१२ श्रावण २०८३, मंगलबार

६ अर्ब बढीको लागतमा बन्दै मध्य चमेलिया आयोजना, ३ वर्षमा काम सक्ने लक्ष्य



सांकेतिक तस्वीर एआईबाट

काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ। दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित चमेलिया नदीमा दार्चुला पावर कम्पनीको प्रवर्द्धनमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुन लागेको हो ।

मध्य चमेलिया जलविद्युत्आ योजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाउन कृषि, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गरेको छ। यसअघि २०८० चैत ७ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको थियो। २०८२ पुस २१ गते पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि स्वीकृति प्राप्त भएको थियो।

विद्युत् विकास विभागले २०८१ चैत १३ गते आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको थियो। मन्त्रालयका अनुसार आयोजनाको डिजाइनमा गरिएको परिवर्तन तथा केही संरचना स्थानान्तरणका कारण वातावरणमा पर्न सक्ने सम्भावित प्रभावको अध्ययन गर्न पूरक ईआईए आवश्यक परेको हो।

यस आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग २०८० असोज २९ गते नै सम्पन्न भइसकेको छ। त्यसपछि २०८२ जेठ २१ गते आयोजनाको वित्तीय व्यवस्थापन पनि टुंगिएको छ।

प्रस्तावित आयोजना स्थल दार्चुलाको गोकुलेश्वर बजारबाट करिब ३० किलोमिटर उत्तर–पश्चिममा पर्छ। यस नदीको माथिल्लो भागमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सञ्चालनमा छ भने तल्लो भागमा ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना रहेको छ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको बलाँच सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनाबाट वर्षायाममा करिब ११८.५२ गिगावाट घण्टा र हिउँदमा ६७.१० गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

करिब तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको अनुमानित लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रुपैयाँ रहेको छ।