वित्तीय ठगीबाट बच्न सजगता अपनाउन राष्ट्र बैंकको आग्रह, यी हुन् ‘रेड फ्ल्याग’
काठमाडौं । पछिल्लो समय प्रविधिको तीव्र विकास, डिजिटल बैंकिङ तथा वित्तीय सेवाहरूको प्रयोग बढेसँगै वित्तीय ठगीका शैलीहरू पनि फेरिँदै गएका छन्। सर्वसाधारणको रकम वा गोप्य डाटा चोर्नका लागि ठगहरूले अनेकौँ पत्यारिला कथाहरू बनाएर ठगी गर्ने गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई विशेष सजगता अपनाउन आग्रह गरेको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय साक्षरता सन्देश जारी गर्दै वित्तीय ठगीका सङ्केतहरू (रेड फ्ल्याग) समयमै पहिचान गर्नु नै यसबाट बच्ने पहिलो कदम भएको जनाएको छ।
यस्ता छन् ‘रेड फ्ल्याग’
राष्ट्र बैंकले निम्न सङ्केतहरू देखिएमा ठगी भइरहेको हुनसक्ने भएकाले विशेष सचेतना अपनाउन आग्रह गरेको हो।
अपरिचित लिङ्क वा फाइल : अपरिचित व्यक्ति वा संस्थाले पठाएको लिङ्क वा अट्याचमेन्ट खोल्न लगाउनु।
अस्वाभाविक कुराकानी : संवादको शैली (टोन) असामान्य हुनु, तुरुन्तै पैसा पठाउन आग्रह गर्नु वा वित्तीय सूचना माग्नु।
फरक खातामा रकम माग्नु : पठाउनुपर्ने भन्दा अन्य अपरिचित वा फरक खातामा रकम पठाउन लगाउनु।
सामाजिक सञ्जालको मात्र प्रयोग गर्नु : सञ्चारका लागि सामाजिक सञ्जाललाई मात्र प्रयोग गरी वित्तीय कारोबार गराउन खोज्नु वा युजरनेम, पासवर्ड, पिन र ओटीपी माग्नु।
दबाब र लोभ देखाउनु : तुरुन्तै कारोबार गर्न दबाब दिनु, नयाँ विवरण माग्नु वा धेरै नाफा तर जोखिम छैन भन्दै आकर्षक प्रस्ताव देखाउनु।
यस्ता संकेत देखिएमा हतारमा कारोबार नगर्न र तुरुन्त जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ। कुनै पनि वित्तीय कारोबारमा शङ्का लागेमा आधिकारिकता जाँच्न र आवश्यक परेमा नेपाल प्रहरीको साइबर ब्युरो, सम्बन्धित वित्तीय संस्था वा नियमनकर्तालाई जानकारी गराउन राष्ट्र बैंकको अनुरोध छ।
साथै, वित्तीय ग्राहकसँग सम्बन्धित गुनासो दर्ता गर्नका लागि राष्ट्र बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np वा वित्तीय ग्राहक संरक्षण इकाइको टेलिफोन नम्बर ०१-५७१९६०५ मा सम्पर्क गर्न सकिनेछ।
डिजिटल वित्तीय सेवाको पहुँच विस्तार हुँदै जाँदा त्यसको सुरक्षित प्रयोग पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार वित्तीय ठगीबाट जोगिन सेवाग्राहीको सचेतना, व्यक्तिगत तथा बैंकिङ जानकारीको गोपनीयता र जिम्मेवार डिजिटल व्यवहार नै सबैभन्दा प्रभावकारी सुरक्षा कवच हो।
वित्तीय साक्षरता अभिवृद्धि गर्दै सुरक्षित बैंकिङ संस्कृतिको विकास गर्न जनचेतनामूलक अभियानलाई निरन्तरता दिइने बैंकले जनाएको छ। साथै, डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन प्रत्येक नागरिकले सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता राष्ट्र बैंकले औंल्याएको छ।













