१२ श्रावण २०८३, मंगलबार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन



राजनीतिक र लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व कांग्रेस वरिष्ठ नेता श्रेष्ठको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। लामो समयदेखि सक्रिय राजनीतिमा रहनुभएका उहाँको ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।

जावलाखेलस्थित हेलिअस हस्पिटलमा स्वास्थ्य उपचार गराइरहनुभएका श्रेष्ठको मंगलबार निधन भएको उहाँ निकट नेताहरूले पुष्टि गरेका छन्। गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेता श्रेष्ठको निधन भएको जानकारी सार्वजनिक गर्दै उहाँप्रतिको शोक व्यक्त गर्नुभएको छ।

दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी कार्यालयमा राखिने भएको छ। पूर्वमन्त्री मेखलालका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उहाँको शव श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम तय गरिएको छ।

पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपश्चात आवश्यक शवयात्रासहित पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिनेछ। लोकतान्त्रिक आन्दोलन र पार्टीभित्र महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका श्रेष्ठ केही समयअघि मात्रै कांग्रेसको वरिष्ठ नेतामा मनोनीत हुनुभएको थियो। कांग्रेस सभापति गगन थापाले गत साउन ७ गते उहाँलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको घोषणा गर्नुभएको थियो।

श्रेष्ठको निधनसँगै नेपाली कांग्रेसले एक निष्ठावान र अनुभवी अभिभावक गुमाएको छ।