उद्योग क्षेत्रले निर्यात विस्तारको नेतृत्व गर्नुपर्छ: अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग क्षेत्रले अर्थतन्त्रतर्फको निर्यात विस्तारको नेतृत्व गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुन:स्थापित गर्नुपर्ने बताएका हुन् । उनले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुन:लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।
वाग्लेले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरु तीव्र गतिमा कार्यान्वयन भइरहेको समेत बताए ।
त्यस्तै, पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार गर्ने र लगानीको वातावरण सुदृढ बनाउने काम समानान्तर रूपमा अघि बढिरहेको उनले उल्लेख गरे ।
उनले भने, “आजको बैठकलाई नियमित छलफलका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको नयाँ चरण प्रारम्भ गर्ने साझा कार्यशालाका रूपमा अगाडि बढाऔँ । नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्र बनाउनेतर्फ अगाडि बढाऔँ ।”
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिवद्धता दोहोर्याउँदै लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरुलाई आग्रह पनि गरे ।













