१२ श्रावण २०८३, मंगलबार

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त



काठमाडौं । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री नियुक्तिका लागि शाहीले मंगलबार नै प्रदेश प्रमुखसमक्ष बहुमतको दाबी पेस गरेका थिए। उनले गठबन्धनमा आबद्ध नेकपा एमालेका ९ र नेकपाका १४ गरी २३ जना प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दाबी गरेका हुन्।

कर्णाली प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा २१ जना सांसदको समर्थन आवश्यक पर्छ। यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले गत शनिबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको थियो।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १० तथा राप्रपा र अन्य १/१ जना सदस्य छन् ।

मुगुको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवारका रूपमा निर्वाचित शाहीले यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।