१३ श्रावण २०८३, बुधबार

आईपीओ निष्काशनको तयारीमा हिमाल डेन्टल हस्पिटल, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त



काठमाडाैं । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद भट्ट तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधि श्री लक्ष्मी प्रसाद प्रसार्ई तथा डा. निरन्जन आचार्यको समेत सहभागिता रहेको थियो ।

गुणस्तरीय दन्त स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले लामो समयदेखि नेपालको दन्त स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक दन्त उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालले उपचारसँगै दन्त रोगको रोकथाम र नियमित मुख स्वास्थ्य परीक्षणको महत्वबारे जनचेतना अभिवृद्धि गर्न पनि जोड दिँदै आएको छ ।

हिमाल डेन्टल हस्पिटलले बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न विशेषज्ञ तथा विशिष्टीकृत सेवाहरू प्रदान गर्दै आएको छ ।

अस्पतालमा मल्टिपल भिजिट रुट क्यानल उपचार ( आरसीटी), सिंगल सिटिङ रुट क्यानल उपचार, ओरल मेडिसिन, ओरल रेडियोलोजी, ओरल तथा म्याक्सिलोफेसियल सर्जरी, कम्युनिटी डेन्टिस्ट्री, पेरियोडोन्टिक्स, प्रोस्थोडोन्टिक्स तथा म्याक्सिलोफेसियल प्रोस्थेसिस, अर्थोडोन्टिक्स तथा डेन्टोफेसियल अर्थोपेडिक्स, पेडोडोन्टिक्स, कन्जर्भेटिभ डेन्टिस्ट्री तथा एन्डोडोन्टिक्स लगायतका सेवाहरू उपलब्ध छन् ।

त्यसैगरी, अस्पतालमा डेन्टल इम्प्लान्ट, अपरेशन थिएटर,थ्रिडी सीबीसीटी एक्सरे, मिलिङ मेसिन तथा लेजर डेन्टिस्ट्री जस्ता आधुनिक प्रविधि तथा सुविधासहितका सेवाहरू पनि उपलब्ध छन् । बिरामीको उपचारलाई सहज र प्रभावकारी बनाउन आवश्यकताअनुसार एम्बुलेन्स सेवा समेत उपलब्ध गराइएको छ ।

आधुनिक प्रविधि र विशेषज्ञ सेवाको संयोजनमार्फत बिरामीलाई एउटै संस्थाबाट आवश्यक दन्त उपचार तथा निदानसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले आफ्नो सेवा विस्तार गर्दै आएको छ। उपचारसँगै दन्त रोगको रोकथाम, समयमै पहिचान र नियमित मुख स्वास्थ्य परीक्षणको महत्वबारे जनचेतना अभिवृद्धि गर्न पनि अस्पतालले निरन्तर जोड दिँदै आएको छ ।

यसरी, विशेषज्ञ दन्त उपचार, आधुनिक निदान प्रविधि, शल्यक्रिया, पुनस्र्थापना तथा सौन्दर्यसम्बन्धी उपचार र आपत्कालीन सहयोग लगायतका विविध सेवामार्फत हिमाल डेन्टल हस्पिटलले बिरामीको आवश्यकता अनुसार समग्र दन्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गर्दै आएको छ ।

दन्त स्वास्थ्य सेवासँगै गुणस्तरीय दन्त शिक्षा प्रदान गर्दै आएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिईभिटी) बाट सम्बन्धनप्राप्त संस्था हो । दन्त स्वास्थ्य सेवासँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने उद्देश्यले सन् २००८ मा हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स स्थापना गरिएको हो । दन्त स्वास्थ्य सेवासँगै गुणस्तरीय दन्त शिक्षा प्रदान गर्दै आएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स हाल १९औँ ब्याचसम्म आइपुगेको छ।

लामो समयदेखि दन्त स्वास्थ्य शिक्षाको क्षेत्रमा सक्रिय संस्थाले विद्यार्थीको शैक्षिक ज्ञान, व्यावहारिक दक्षता र क्लिनिकल सीप विकासलाई प्राथमिकता दिँदै आएको छ । संस्थामा अध्ययनरत तथा अध्ययन पूरा गरेका विद्यार्थीहरूले विभिन्न शैक्षिक परीक्षामा राम्रो नतिजा हासिल गर्दै आएका छन् । विद्यार्थीको शैक्षिक प्रगति र व्यावसायिक दक्षतालाई समान रूपमा अघि बढाउने उद्देश्यसहित संस्थाले गुणस्तरीय शिक्षा र व्यावहारिक सिकाइको वातावरण निर्माणमा निरन्तर जोड दिँदै आएको छ ।

संस्थाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र क्लिनिकल अनुभव प्रदान गर्दै दन्त स्वास्थ्य क्षेत्रमा आवश्यक सीप भएका जनशक्ति तयार गर्न योगदान पु¥याउँदै आएको छ । संस्थामा अध्ययनरत विद्यार्थीहरूले आफ्नै अस्पताल तथा सम्बन्धित क्लिनिकल वातावरणमा व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने अवसर पाउँदै आएका छन् । यसले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक कार्यक्षेत्रसँग जोड्न तथा बिरामीको हेरचाह, उपचार प्रक्रिया र व्यावसायिक जिम्मेवारीबारे व्यवहारिक रूपमा बुझ्न सहयोग पु¥याउने गरेको छ ।

हाल संस्थाले तिन वर्षिय कोर्ष डेन्टल साइन्स, छोटो अवधि कोर्ष (डेन्टल असिस्टेन्ट) तालिम तथा डेन्टल ल्याब मेकानिक्स तालिम सञ्चालन गर्दै आएको छ । साथै, दन्त स्वास्थ्य शिक्षाको बढ्दो आवश्यकता र मागलाई मध्यनजर गर्दै निकट भविष्यमा ब्याचलर इन डेन्टल सर्जरी तथा ब्याचलर इन डेन्टल हाइजिन कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि बढाएको छ ।

हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले दन्त स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै समुदायमा दन्त स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ। विभिन्न स्थानमा आयोजना गरिने दन्त स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रममार्फत समुदायका मानिसहरूलाई दाँत तथा मुखको स्वास्थ्यप्रति सचेत गराउने प्रयास हुँदै आएको संस्थाले जनाएको छ ।

अस्पतालले दन्त उपचार सेवामा मात्र सीमित नरही समुदायको दन्त स्वास्थ्य प्रवद्र्धनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले विभिन्न विद्यालय तथा समुदायमा नियमित रूपमा दन्त स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता स्वास्थ्य शिविरहरूमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँगै संस्थाका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहने गरेको छ।

शिविरमार्फत स्थानीय समुदायका मानिसहरूलाई दन्त परीक्षण, आवश्यक परामर्श तथा प्राथमिक उपचारसम्बन्धी सेवा प्रदान गर्नुका साथै दाँत तथा मुखको सरसफाइ, दन्त रोगको रोकथाम र समयमै उपचारको महत्वबारे जनचेतना अभिवृद्धि गरिँदै आएको छ । यसले विद्यार्थीहरूलाई समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा दन्त स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न समेत सहयोग पु¥याउँदै आएको छ ।

दन्त स्वास्थ्य सेवामा बढ्दो आवश्यकता र जनचेतनासँगै आगामी दिनमा अझ गुणस्तरीय सेवा, व्यावहारिक शिक्षा तथा दक्ष जनशक्ति विकासमा केन्द्रित हुने संस्थाको लक्ष्य रहेको छ । स्वास्थ्य सेवा र शिक्षालाई सँगसँगै अघि बढाउँदै हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले नेपालको दन्त स्वास्थ्य क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।