१३ श्रावण २०८३, बुधबार

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य बृद्धि, १६ ठूला बैंकले लाभांश बाँड्ने सम्भावना



लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई यो असार मसान्तले एउटा नयाँ उत्साह दिएको छ । बैंकरहरु अब भने मन फुकाएर लाभांश बाँड्नसक्ने अवस्था आउन लागेको बताइरहेका छन् ।

काठमाडौँ । राज्य र निजी क्षेत्रको तारन्तारको प्रहारपछि अभियान्ता दुर्गा प्रसाईँ केही समययता शान्त बनिदिँदा बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणमा भने नाफा ग्राफ निकै उकासिने भएको छ ।

ज्यादातर बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । तर उनीहरु आधा दशकपछि यसपल्ट ‘प्रफुल्ल’ मुद्रामा देखिन थालेका छन् ।

खासगरी पुराना विग्रिएका थुप्रै कर्जाहरु सल्टाउन सकिएकोमा अहिले बैंकरहरु हर्षित देखिएका हुन् । उनीहरुको उत्साह कतिसम्म बढेको छ भने, एउटा ‘लिडिङ’ बैंकका सीईओले त आफ्ना समकक्षीहरुसँगको भेटमा सुनाएका थिए– ‘नाफा बढी भएर के गर्नु, के गर्नु भएको छ । केही पैसा अर्को वर्षलाई राख्नु पर्छ कि भन्ने सोचमा छु ।’

वित्तीय प्रणालीमा चार वर्षदेखि अड्किएको ‘हलो’ अब ‘उप्किएको’ सन्देश बैंकरले दिएका छन् । उनीहरुले सबैजसो क्षेत्रमा समस्याग्रस्त भएका कर्जाहरु उठ्न थालेको र चार वर्षदेखि ‘रिकभरी’मा गरेको मिहेनतले फल दिएको बताएका छन् ।

‘मधेश प्रदेशमा हामीले अपेक्षा गरेकोभन्दा पनि राम्रोसँग रिकभरी भएको छ । अन्ततिर पनि निकै राम्रो रिकभरी छ’ नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले अर्थपथसँग भने ।

पुराना ऋणीले भटाभट आफ्नो किस्ता र ब्याज तिर्न थालेपछि उत्साहित बनेका बैंकरहरु यो वर्ष ज्यादातर बैंकले लाभांश बाँड्नसक्ने संभावना रहेको बताउँछन् ।

हालसम्म वित्तीय प्रतिवेदन प्रकाशित नभइसकेको भए पनि प्रभू, एनआईसी एसिया, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बाहेक सबै वाणिज्य बैंकले थोरबहुत लाभांश बाँड्न सक्ने आँकलन बैंकरहरुको छ । यी चार बैंकको हकमा भने वित्तीय प्रतिवेदन आइसकेपछि मात्रै अनुमान गर्न सकिने एक बैंकर बताउँछन् ।

अब पनि कम्तिमा डेढ वर्ष सरकारको स्थिायित्वमा प्रश्न नउठ्ने र त्यतिञ्जेल अर्थतन्त्र थप चलायमान हुँदै जाने अवस्था रहेको भनेर बैंकर अहिले खुसी देखिन्छन् । अहिले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा उत्कृष्ठ ‘पर्फरमेन्स’ गरिरहेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ पनि गत असार मसान्तको कर्जा असूली निकै राम्रो भएको मान्छन् ।

‘सबै साथीहरुसँग कुरा गर्दा रिकभरी राम्रो भएको छ भन्छन् । हाम्रो बैंकमा पनि निकै राम्रो भएको छ’, उनले भने । लामो समय वित्तीय प्रणालीमा अधिक तरलता हुनु र पछिल्लो समय घरजग्गा कारोबारमा विस्तारै सुधार देखिनुले बैंकहरुको ऋण असुली पनि सुध्रिएको हो ।

देशभरका १४४ मालपोत कार्यालयबाट गत असारमा ७० हजार ४८० वटा लिखत पास भएको थियो । जुन आँकडा जेठमा ५४ हजार ७२४ मात्रै थियो । असारमा १५२ वटा अपार्टमेन्ट किनबेच भयो, जबकी जेठमा ८६ वटा भएको थियो ।

अघिल्ला महिनाको आँकडा हेर्दा वैशाखमा ५८ हजार ८८६, चैतमा ५५ हजार ५३१, फागुनमा ३६ हजार ४७१ र माघमा ५० हजार ८३७ कित्ता घरजग्गाको लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको आँकडामा देखिन्छ ।

उपत्यकामा जग्गाको कारोबार दोब्बर

अर्को राम्रो पक्ष चाहीँ असारमा कुल लिखत पासमध्ये १४.३ प्रतिशत अर्थात् १० हजारभन्दा धेरै कित्ता काठमाडौँ उपत्यकाभित्र कारोबार भएको छ । जुन अघिल्लो महिनाभन्दा दोब्बर हो । जेठमा काठमाडौँ उपत्यकामा जम्मा ५ हजार कित्ता कारोबार भएको थियो, जुन त्यतिबेलाको कुल लिखतपासको ९.१ प्रतिशत हो ।

खासगरी भक्तपुर, लगनखेल, कलंकी, चाबहिल र मनमैजु मालपोत क्षेत्रमा कारोबार बढेको देखिएको छ ।

यसरी एकातिर ह्वात्तै घरजग्गाको कारोबार बढेपछि मानिसहरुलाई ऋण तिर्न बाटो खुल्दै गएको र अर्कातिर ‘ऋण तिर्नु पर्दैन’ भनेर ‘दुष्प्रचार’ गरिरहेका दुर्गा प्रसाईँ केही समययता मौन बसिदिएपछि बैंकहरुको कर्जा असुलीमा उल्लेख्य सुधार देखिएको बैंकरको भनाई छ ।

केही बैंकरले भने साउन १५ सम्म पनि ब्याज उठाउन पाइने व्यवस्थाले बैंकहरुलाई थप राहत दिएको बताएका छन् । यसले लभांश बाँड्ने कि नबाँड्ने भन्ने दोसाँधमा भएका बैंकहरुलाई समेत थोरै भए पनि लाभांश दिनसक्ने परिस्थिति सिर्जना हुँदै गएको उनीहरु बताउँछन् ।

‘राष्ट्र बैंकले थोरै मात्रै लचकता अपनाइदियो भने अहिले धेरै बैंकहरु लाभांश बाँड्न सक्ने अवस्थामा आउने देखिन्छ’ बैंकका सीईओहरुको क्लबका अध्यक्ष कोइरालाले भने ।