१३ श्रावण २०८३, बुधबार

भोलिदेखि राहदानी विभाग दिनमा १४ घण्टा खुल्ला, बिदाको दिन पनि पासपोर्ट बाँडिने



काठमाडौँ । भोलि साउन १४ गतेदेखि राहदानी विभाग विहान ७ बजे नै खुलिसक्ने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै विहान ७ बजेदेखि राती ९ बजेसम्म राहदानी सेवा दिने जानकारी गराएको छ ।

विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि राती ९ बजेसम्म दोस्रो सिफ्टमा सेवा दिन लागिएको हो ।

यस्तो सेवा साउन २२ गत शुक्रबारसम्म कायम रहने छ । त्यसपछि अर्थात् यो महिनाको अन्तिम सातादेखि भने नियमित समय तालिका अनुसार नै विहान ९ देखि साँझ ५ बजेसम्म सेवा प्रवाह हुने बताइएको छ ।

तर यसबीचमा पर्ने दुई दिनको सार्वजनिक बिदा (साउन १५ र १७) मा पनि विहान १० बजेदेखि साँझ ४ बजेसम्म राहदानी विभाग खुल्ला हुने भएको छ ।

विशेषगरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिने नेपाली सेवाग्राहीको बढ्दो चापलाई मध्येनजर गर्दै यस्तो सेवा दिन लागिएको विभागले जनाएको छ ।