दिवाकर गोल्छा अर्गनाइजेशनद्वारा संस्थापक दिवस मनाइयो
काठमाडौँ। नेपालको औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्व स्व. दिवाकर गोल्छाको ७३ औं जन्मजयन्तीको अवसरमा दिवाकर गोल्छा अर्गनाइजेसनले आज ‘संस्थापक दिवस’ मनाएको छ। देशको औद्योगिकरण र उद्यमशीलतामा महत्त्वपूर्ण योगदान पुर्याएका स्व. गोल्छाको सम्मानमा अर्गनाइजेसनले देशभर विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरू आयोजना गरेको हो।
प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व. दिवाकर गोल्छाको दूरदर्शिता, मार्गदर्शन तथा देश निर्माणप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै हरेक वर्ष संस्थापक दिवस मनाउँदै आएको अर्गनाइजेशनले यस वर्ष साउन १३ गते विशेष कार्यक्रम आयोजना गरेको हो। स्व. गोल्छाको ७२ औं जन्मजयन्तीको अवसरमा उद्योगका कारखानास्थल, काठमाडौँस्थित कर्पोरेट कार्यालय तथा विभिन्न शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरिएको अर्गनाइजेशनले जनाएको छ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको छ।
त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै कर्मचारी सम्मान कार्यक्रम समेत आयोजना गरिएको छ।वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ भने स्थानीय विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण कार्यक्रम आयोजना गरी सामाजिक सेवामा योगदान पुर्याइएको छ। यसै अवसरमा कीर्तिपुर अस्पताललाई डायलसिस उपकरण हस्तान्तरण गरिएको पनि अर्गनाइजेशनले जनाएको छ।
देशलाई औद्योगिकीकरण र रोजगारी सिर्जनाको दिशामा अघि बढाउने स्व. दिवाकर गोल्छाको लक्ष्यअनुसार गोल्छा समूहले विभिन्न क्षेत्रमा उद्योग स्थापना गर्दै आएको छ। कर्कट जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील युटेन्सिल, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्सलगायतका वस्तु उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्दै करिब २० हजार जनालाई रोजगारी प्रदान गरिएको अर्गनाइजेशनले जनाएको छ।
नेपालको पहिलो स्टिल उद्योगको रूपमा ४५ वर्षअघि स्थापित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले देशको अर्थतन्त्र र रोजगारीमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्थालाई आर्थिक सहयोग तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको समेत अर्गनाइजेशनले जानकारी दिएको छ।













