मधेसको तनावबारे मधेसका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा विकसित पछिल्लो परिस्थितिबारे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल तथा परामर्श सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भइरहेको छलफलमा सुनसरीलगायत मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था, शान्ति–सुरक्षाको स्थिति तथा त्यसको समाधानका सम्भावित उपायबारे विचार आदान–प्रदान भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेशकेन्द्रित तथा मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूको सहभागिता रहेको छ।
सरकारले पछिल्ला घटनाक्रमलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने उद्देश्यसहित छलफल अघि बढाएको जनाएको छ। बैठकमा सहभागी नेताहरूले मधेशको वर्तमान अवस्था, स्थानीय जनताका चासो तथा शान्तिपूर्ण वातावरण कायम गर्ने उपायबारे आफ्ना धारणा राखिरहेका छन्।
सरकारले मधेश क्षेत्रमा देखिएको तनाव थप जटिल बन्न नदिन सम्बन्धित सबै पक्षसँग निरन्तर संवाद, समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।













