पाँचबुँदे मागसहित लघुवित्त पीडितको सामुहिक आमरण अनसन आज पनि जारी
काठमाडौं । विभिन्न पाँचबुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी राखेका छन्। ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति’को नेतृत्वमा मंगलबारदेखि आन्दोलन सुरु भएको हो।
आन्दोलनरत पक्षले लघुवित्तबाट वित्तीय शोषणको अन्त्य, सामाजिक न्यायको सुनिश्चितता तथा आफ्ना मागप्रति सरकारले गम्भीर ध्यान दिनुपर्ने माग गरेको छ। उनीहरूले सर्वोच्च अदालतको परमादेशअनुसार तयार गरिएको तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
संघर्ष समितिले विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहिताअनुसार वित्तीय व्यवस्था लागू गर्नुपर्ने माग पनि राखेको छ। त्यस्तै, गरिब, किसान, मजदुर र सुकुम्बासीलाई ब्याज सहुलियतसहित निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने तथा नागरिकको क्षमता र आवश्यकताअनुसार रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने मागपत्रमा उल्लेख गरिएको छ।
यसका साथै निजी बैंक तथा वित्तीय संस्थाको व्यवस्था अन्त्य गरी समाजवादी अर्थतन्त्रमा आधारित वित्तीय प्रणाली स्थापना गर्नुपर्ने दीर्घकालीन मागसमेत आन्दोलनकारीले अघि सारेका छन्। संघर्ष समितिले आफ्ना मागप्रति सरकारले ठोस निर्णय नगरेसम्म आमरण अनसनसहितका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ।













