१५ श्रावण २०८३, शुक्रबार

स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ



काठमाडौं । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले जानकारी दिए ।

नेपाल प्रहरीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दाङ धनौरी–९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२३ बस्दै आएका ५२ वर्षीय भण्डारीलाई साउन १४ गते पक्राउ गरिएको हो।

स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नवीकरण नभएकाले २०८० वैशाख २ गतेदेखि स्वतः रद्द भएको थियो। त्यसपछि कम्पनीका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, प्रणाली र सञ्जाल नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आएको दाबी गरिएको छ।

प्रहरीका अनुसार ती सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजियाटा लिमिटेडको मिलेमतोमा गैरकानुनी रूपमा लिलाम गरी एनसेललाई हस्तान्तरण गरिएको छ। उक्त कार्यबाट नेपाल सरकार तथा दूरसञ्चार प्राधिकरणको हकहितमा क्षति पुगेको भन्दै ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।