१५ श्रावण २०८३, शुक्रबार

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलोपटक सार्वजनिक हुँदै निसानको नयाँ एसयूभी ‘टेकटन’



काठमाडौं । निसानको नयाँ प्रिमियम एसयूभी टेकटन आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नेपालमा पहिलोपटक सार्वजनिक गरिने भएको छ।

नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले साउन २७ देखि भदौ १ (अगस्ट ११–१६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा टेकटन प्रदर्शन गरिने जनाएको हो।

कम्पनीका अनुसार गत जुलाई ९ मा विश्व बजारमा सार्वजनिक गरिएको टेकटन निसानको नयाँ पुस्ताको प्रिमियम एसयूभी हो। यसमा निसानको सात दशकभन्दा लामो एसयूभी विकास अनुभवलाई आधुनिक डिजाइन, प्रविधि र कार्यक्षमतासँग संयोजन गरिएको दाबी गरिएको छ।

टेकटन दुई इन्जिन विकल्पमा उपलब्ध हुनेछ। एउटा १.० लिटर टर्बो पेट्रोल इन्जिनसँग ६-स्पिड म्यानुअल गियरबक्स र अर्को १.३ लिटर टर्बो जीडीआई इन्जिनसँग ६-स्पिड डुअल–क्लच ट्रान्समिसन (डीसीटी) उपलब्ध हुनेछ। कम्पनीका अनुसार गाडीले अधिकतम १६३ पीएस शक्ति र २८० न्युटन मिटर टर्क उत्पादन गर्ने क्षमता राख्छ।

यसमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, प्रिमियम इन्टेरियर, रियर–भ्यु क्यामेरा, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक (डीसीटी भेरियन्ट) लगायतका सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

सुरक्षातर्फ गाडीमा ६ वटा एयरब्याग, उच्च–शक्तियुक्त स्टिल संरचना तथा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा जस्ता चालक–सहायता प्रणाली उपलब्ध रहने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार टेकटनको बाह्य डिजाइन निसानको प्रतिष्ठित एसयूभी ‘पेट्रोल’बाट प्रेरित छ। सी–आकारका एलईडी लाइट, मस्कुलर बडी डिजाइन र फराकिलो केबिनका कारण यो सहरभित्रको दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म उपयुक्त हुने दाबी गरिएको छ।

नाइमा मोबिलिटी एक्स्पो अवधिभर प्रदर्शनी स्थलमा आउने आगन्तुकले टेकटनलाई प्रत्यक्ष अवलोकन गर्न, यसको प्रविधि तथा विशेषताबारे जानकारी लिन र निसानका प्राविधिक प्रतिनिधिसँग अन्तरक्रिया गर्न सक्ने कम्पनीले जनाएको छ।