भारतको कार बजार : महिन्द्रा र ह्युण्डाइलाई पछि पार्दै टाटा अग्रस्थानमा कायम
काठमाडौँ । भारतीय बजारमा जुलाई २०२६ को कार बिक्री तथ्याङ्क सार्वजनिक भएको छ, जसमा अधिकांश अटोमोबाइल ब्रान्डहरूले गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गरेका छन्।
यस महिनामा टाटा मोटर्सले कुल ६३ हजार ७६० युनिट सवारी साधन बिक्री गरेको छ भने ह्युण्डाइले घरेलु बजार र निर्यातसहित कुल ७५ हजार ३६० सवारी साधन बिक्री गरेको छ। त्यस्तै, महिन्द्राले घरेलु बजारमा मात्र ६० हजारभन्दा बढी एसयूभी डिलरहरूलाई पठाएको छ।
मारुती र टाटाको बलियो प्रदर्शन
मारुती सुजुकी इन्डिया लिमिटेडले जुलाई २०२६ मा ओईएम बिक्री र निर्यातसहित कुल २ लाख ४१ हजार ४२१ युनिट सवारी साधन बिक्री गरेको छ, जुन गत वर्षको सोही महिनामा १ लाख ८० हजार ५२६ युनिट थियो। यस महिनामा कम्पनीको घरेलु बिक्री २ लाख १२३ युनिट पुगेको छ भने ३१ हजार ७४५ सवारी साधन निर्यात गरिएको छ र ११ हजार २४२ युनिट ओईएमलाई आपूर्ति गरिएको छ।
यता, टाटा मोटर्सले पछिल्ला वर्षहरूको सबैभन्दा बलियो मासिक वृद्धिसहित जुलाई २०२६ मा करिब ५९ प्रतिशतको वार्षिक बिक्री वृद्धि हासिल गरेको छ। कम्पनीले घरेलु र निर्यातसहित कुल ६३ हजार ७६० सवारी साधन बिक्री गरेको छ भने घरेलु बजारमा मात्र ६२ हजार ६११ युनिट बिक्री गरी ५८.४२ प्रतिशतको वृद्धि दर्ता गरेको छ।
विशेष गरी, टाटाले विद्युतीय सवारी साधन (ईभी) मा १५ हजार २१७ युनिट बिक्री गरेर नयाँ कीर्तिमान बनाएको छ। विद्युतीय गाडीको बिक्रीमा ११३.६० प्रतिशतको छलाङ मार्दै कम्पनीले पहिलो पटक १५ हजारको मासिक आँकडा पार गरेको छ र यसमा पन्च माइक्रो एसयूभीले सबैभन्दा धेरै बिक्री रेकर्ड कायम गरेको छ।
महिन्द्रा र ह्युण्डाइको सफलता
महिन्द्रा एण्ड महिन्द्राले जुलाई २०२६ मा निर्यातसहित कुल १ लाख ३ हजार ८६० सवारी साधन बिक्री गर्दै २६ प्रतिशतको वृद्धि हासिल गरेको छ। एसयूभी सेग्मेन्टमा कम्पनीले घरेलु बजारमा ६० हजार ४८ र निर्यातसहित कुल ६० हजार ८८७ युनिट बिक्री गरेको छ। कम्पनीका अटोमोटिभ डिभिजनका प्रमुख कार्यकारी अधिकृत नलिनिकांत गोलगुन्टाले पोर्टफोलियोभरि देखिएको मागका कारण उत्साहजनक वृद्धि हासिल भएको बताए।
त्यसैगरी, ह्युण्डाइ मोटर इन्डिया लिमिटेडले जुलाई २०२६ मा घरेलु र निर्यातसहित ७५ हजार ३६० युनिट बिक्री गर्दै २५.४ प्रतिशतको बलियो वार्षिक वृद्धि हासिल गरेको छ। यसमा ५४ हजार २१० युनिट घरेलु बिक्री रहेको छ जुन जुलाई महिनाको इतिहासमै सबैभन्दा धेरै हो भने २१ हजार १५० युनिट निर्यातसहित सय महिनायताकै उच्च निर्यात रेकर्ड कायम भएको छ।
प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकृत तरुण गर्गले ग्राहकहरूको विश्वास र ‘मेक इन इन्डिया, मेड फर द वल्ड’प्रतिको प्रतिबद्धताले यो सफलता मिलेको बताए।
टोयोटा, किया, एमजी र होन्डाको व्यापार
टोयोटा किर्लोस्कर मोटरले जुलाई २०२६ मा ३२ हजार ५१६ युनिट बिक्री गरेको छ। घरेलु बजारमा ३० हजार ५१६ सवारी साधन बिक्री गर्दै कम्पनीले ५ प्रतिशतको वृद्धि हासिल गरेको छ भने जनवरीदेखि जुलाईसम्मको अवधिमा १३ प्रतिशतको वृद्धि दर्ता गरेको छ। कम्पनीका वरिष्ठ उपाध्यक्ष सबरी मनोहरले नयाँ हिलाक्सको लञ्चले एसयूभी पोर्टफोलियोलाई थप बलियो बनाएको बताए।
किया इन्डियाले पनि जुलाई २०२६ मा २८ हजार २०० युनिट बिक्री गर्दै २७.४ प्रतिशतको बलियो वार्षिक वृद्धि हासिल गरेको छ। कम्पनीका वरिष्ठ उपाध्यक्ष अतुल सुदले सेल्टोस र सोनेटको बलियो प्रदर्शनले कम्पनीलाई अगाडि बढाएको र नयाँ सिरोस ईभीप्रति पनि ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया आएको उल्लेख गरे।
त्यस्तै, जेएसडब्लू एमजी मोटर इन्डियाले लगातार दोस्रो महिना आफ्नो सर्वोच्च मासिक थोक बिक्री रेकर्ड गर्दै ८ हजार १५८ युनिट बिक्री गरेको छ, जसमा न्यू इनर्जी भेहिकल (एन.ई.भी) पोर्टफोलियोको योगदान ८० प्रतिशतभन्दा बढी रहेको छ। प्रबन्ध निर्देशक अनुराग मेहरोत्राले ग्राहकहरूको बढ्दो विश्वास र एमजी एडाप्ट जस्ता नवीन समाधानले यसमा सहयोग पुगेको बताए।
उता, होन्डा कार्स इन्डियाले जुलाई २०२६ मा कुल ८ हजार २८४ युनिट बिक्री गरेको छ, जसमध्ये ६ हजार १४ युनिट घरेलु बजारमा र २ हजार २७० युनिट निर्यात भएको छ। कम्पनीका उपाध्यक्ष कुणाल बहलले नयाँ सिटी र जेडआर-भी को उत्कृष्ट प्रतिक्रिया तथा इलिभेट र अमेझको बलियो प्रदर्शनका कारण घरेलु बिक्रीमा ४८ प्रतिशतभन्दा बढीको वृद्धि हासिल भएको बताए।













