राष्ट्र बैंकद्वारा प्रकाशित अध्ययनको निष्कर्ष: नीतिगत अन्योलले नेप्सेमा १०% असर पार्न सक्ने
काठमाडौं । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले हालै प्रकाशित गरेको एक अध्ययनले आर्थिक नीतिमा देखिने अनिश्चितताले समग्र अर्थतन्त्रको विस्तारलाई कमजोर बनाउन सक्ने देखाएको छ ।
अध्ययनअनुसार नीतिगत अन्योल बढ्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी), निजी क्षेत्रतर्फको कर्जा विस्तार, आयात तथा पूँजी बजारमा नकारात्मक प्रभाव देखिन सक्छ। नीतिगत अनिश्चितताको प्रभाव दोस्रो त्रैमासदेखि देखिन सुरु हुने र तेस्रो त्रैमाससम्म आइपुग्दा जीडीपी वृद्धिदर करिब २ प्रतिशत बिन्दुसम्म घट्ने अध्ययनले देखाउँछ।
त्यस्तै, नीति स्पष्ट नहुँदा बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाउने प्रवृत्ति बढ्ने अध्ययनले जनाएको छ। त्यसको असरस्वरूप निजी क्षेत्रतर्फको वास्तविक कर्जा विस्तार करिब ५ प्रतिशतसम्म र वास्तविक आयातमा अधिकतम १५ प्रतिशतसम्मको गिरावट आउने गर्छ ।
अध्ययनले अन्य आर्थिक सूचकको तुलनामा सेयर बजारले नीतिगत अनिश्चितताप्रति सबैभन्दा छिटो प्रतिक्रिया जनाउने देखाएको छ। नीतिगत अन्योल बढ्नासाथ नेप्से परिसूचकमा तत्काल करिब ५ प्रतिशतसम्म गिरावट आउन सक्ने तथा प्रभाव उच्च हुँदा बजारमा अधिकतम १० प्रतिशतसम्म नकारात्मक असर पर्न सक्ने अध्ययनको निष्कर्ष छ।
यद्यपि, आर्थिक नीतिगत अनिश्चितताले उपभोक्ता मूल्य सूचकांक (महँगी) मा भने तथ्याङ्कीय रूपमा उल्लेखनीय प्रभाव नपारेको अध्ययनमा उल्लेख गरिएको छ।
अध्ययनका अनुसार नेपालमा वार्षिक बजेट सार्वजनिक हुने समय, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति घोषणा, विदेशी विनिमय सञ्चितिमा दबाब सिर्जना हुने अवस्था, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शिखर सम्मेलन, नयाँ संविधान जारी भएको अवधि तथा ठूला निर्वाचनका बेला आर्थिक नीतिगत अनिश्चितताको सूचकांक उल्लेखनीय रूपमा बढेको देखिएको छ।
गुगलमा सर्वसाधारण र आर्थिक गतिविधिसँग सम्बन्धित पक्षहरूले गर्ने खोजलाई आधार बनाएर तयार गरिएको उक्त अध्ययनले सरकार तथा नियामक निकायहरूले स्थिर, स्पष्ट र पूर्वानुमानयोग्य नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ। अध्ययनमा नीतिमा बारम्बार हुने परिवर्तन र अन्योलले निजी क्षेत्रको विश्वास कमजोर बनाउने, लगानी निर्णय प्रभावित गर्ने तथा आर्थिक गतिविधिमा सुस्तता ल्याउन सक्ने उल्लेख गरिएको छ।
हालै सार्वजनिक गरिएको ‘वर्किङ पेपर सिरिज’ अन्तर्गतको यो अध्ययन राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा प्रकाशित गरिएको हो । यसमा वीरेन्द्रबहादुर बुढा, रोहन ब्याञ्जनकार र स्वस्तिक नेपालले नेपालमा आर्थिक नीतिगत अनिश्चितताले समग्र अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गरेका छन्।













