१७ श्रावण २०८३, आइतबार

भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट नेपालका अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित



काठमाडौँ । नेपाल र भियतनामबीचको सम्बन्ध मजबुत बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै भियतनाम सरकारले नेपालका लागि अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरेको छ।

भियतनामको परराष्ट्र मन्त्रालयले नेपालका लागि अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मानित गरेको छ।

नेपाल र भियतनामबीचको व्यापार, पर्यटन र सांस्कृतिक दूरी घटाउन सेतुको रूपमा काम गर्दै आएका श्रेष्ठलाई यो सम्मान प्रदान गरिएको हो।

नेपालमा रहेका भियतनामी नागरिक र व्यवसायीलाई आवश्यक सहजीकरण गर्न तथा द्विपक्षीय सहयोग फराकिलो पार्न उनले पुर्‍याएको योगदानको भियतनाम सरकारले उच्च मूल्याङ्कन गरेको छ।

भियतनामको वैदेशिक सेवामा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप विश्वभरका कन्सुलरहरूमध्ये अग्रस्थानमा राखेर यो सम्मान दिइएको हो।

भियतनामका परराष्ट्र मन्त्री हो बिन्ह ट्रुङद्वारा हस्ताक्षरित प्रमाणपत्रमा दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन श्रेष्ठले खेलेको भूमिकाको प्रशंसा गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र वैदेशिक सेवाको विकासमा उनको सक्रियता अनुकरणीय रहेको मन्त्रालयको निष्कर्ष छ।

सिधा हवाई उडान र द्विपक्षीय सहकार्यमा जोड

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै अवैतनिक महावाणिज्यदूत श्रेष्ठले भियतनाम सरकार र सम्बन्धित निकायप्रति आभार प्रकट गरे। उनले दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन निरन्तर लागिपर्ने दृढता व्यक्त गरे।

सो अवसरमा उनले नेपाल र भियतनामबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन प्रत्यक्ष हवाई सम्पर्क अपरिहार्य रहेको बताए।

नेपाल बुद्धको जन्मस्थल भएको र भियतनाममा पनि ठूलो बौद्ध समुदाय बसोबास गर्ने,त हुनाले सिधा उडानले धार्मिक पर्यटनमा क्रान्ति ल्याउने उनको तर्क छ। लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवर्द्धन गर्नसकिए दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध थप गहिरिने उनले औँल्याए।

पर्यटनका साथै सूचना प्रविधि, कृषि, शिक्षा, ऊर्जा र पूर्वाधारका क्षेत्रमा संयुक्त लगानी र साझेदारीका लागि फराकिलो सम्भावना रहेको उनको भनाइ छ।