१७ श्रावण २०८३, आइतबार

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा आयो, नगद कारोबारका बिल दर्ता गर्न अपिल



काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो।

विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्।

यसका लागि विभागले प्राइज डट आइआरडी डट जिओभी डट एनपी (prize.ird.gov.np) नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। योग्य उपभोक्ताले उक्त पोर्टलमा आफ्नो बिल अपलोड गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार बैंक वा डिजिटल वालेटमार्फत क्यूआर कोड प्रयोग गरेर गरिएको १०० रुपैयाँभन्दा बढीको भुक्तानी भने स्वतः प्रणालीमा समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले छुट्टै बिल प्रविष्ट गर्न आवश्यक पर्दैन। यद्यपि, पछि उपहार प्राप्त गर्ने क्रममा सक्कल बिल अनिवार्य हुने भएकाले सबै बिल सुरक्षित राख्न विभागले आग्रह गरेको छ।

उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्न तथा बिल उपलब्ध नगराइए विभागलाई जानकारी गराउन पनि विभागले अनुरोध गरेको छ।

साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी रहेको विभागले जनाएको छ। कुनै ठूलो समस्या नआएमा पहिलो १५ दिनका लागि दैनिक रु. १ लाखका दरले १५ जना विजेता र १५ दिनको अवधिको एक जना बम्पर विजेता घोषणा गरिनेछ।

कार्यक्रमअन्तर्गत दैनिक एक जना उपभोक्तालाई कर कट्टीपछिको रु. १ लाख नगद र प्रत्येक १५ दिनमा एक जनालाई रु. १० लाख नगद बम्पर उपहार प्रदान गर्ने व्यवस्था गरिएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेका थिए।