१७ श्रावण २०८३, आइतबार

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, नयाँ रणनीतिमा जोड



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा व्यवस्थापकहरूको वार्षिक सम्मेलन (ब्रान्च म्यानेजर कन्फ्रेन्स) चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन चलेको सम्मेलनमा गत आर्थिक वर्षको समीक्षा, नयाँ रणनीति र उत्कृष्ट कर्मचारी तथा शाखाहरूलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको कम्पनीले जनाएको छ।

सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को व्यावसायिक उपलब्धि र कार्यसम्पादनको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि व्यवसाय विस्तारको रणनीतिबारे छलफल गरिएको थियो। साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जिक्युटिभ तथा शाखाहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। उनले गत आर्थिक वर्षमा कम्पनीले अघिल्लो वर्षको तुलनामा राम्रो व्यावसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै कर्मचारी, अभिकर्ता र बीमितप्रति आभार व्यक्त गरे। उनले आगामी वर्षका लक्ष्य हासिल गर्न स्पष्ट रणनीतिका साथ आत्मविश्वासपूर्वक अघि बढ्न कर्मचारीलाई आग्रह गरे।

सम्मेलनमा कम्पनीका व्यवस्थापन टोली, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जिक्युटिभसहित देशभरबाट करिब २०० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। उक्त प्रशिक्षणले व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक ऊर्जा प्रदान गरेको कम्पनीको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै सुधारसहित अघि बढेमा कम्पनीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीको व्यवसायिक रणनीति प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएका थिए।