१८ श्रावण २०८३, सोमबार

नेपालीको सपनाको भूमि कोरियामा रोजगारीको संकट, जागिरकै लागि विदेशिन थाले काेरियाली युवा



काठमाडाैं । दक्षिण कोरिया भन्नासाथ तपाईंको दिमागमा कस्तो देशको चित्र आउँछ? हो, जहाँ वर्षेनी हजाराैँ नेपालीहरू राम्रो रोजगारी र आकर्षक तलबको सपना बोकेर जाने गरेका छन्, जुन देशलाई हामी रोजगारीका लागि एक उत्कृष्ट गन्तव्य मान्छौँ, अहिले तिनै दक्षिण कोरियाका आफ्नै जेहनदार र पढेलेखेका युवाहरूले समेत स्वदेशमा पूर्ण रूपमा गतिलो रोजगारी पाउन सकेका छैनन्।

दक्षिण कोरियाका ट्यालेन्टेड र हाइली एजुकेटेड युवाहरू अहिले आफ्नै देशमा राम्रो जागिर पाउन हम्मेहम्मे परेपछि छिमेकी देश जापानतिर हुइँकिरहेका छन्। उता जापानमा भने वृद्ध जनसङ्ख्या बढ्दै जाँदा युवा जनशक्ति अभावले कम्पनीहरू छटपटाइरहेका छन्। हो, यही डिमान्ड र सप्लाईको मज्जाको ग्यापले गर्दा अहिले कोरियाली युवाहरूको पहिलो रोजाइ जापान बन्न पुगेको छ।

सरकारी समन्वयमा हुने वैदेशिक रोजगार कार्यक्रम मार्फत विदेशिने कोरियाली युवाहरूको रोजाइ कसरी जापानतर्फ मोडिएको छ भन्ने कुरा ‘ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया’ को तथ्याङ्कले पनि छर्लङ्ग पार्छ।

सन् २०१५ मा यस्ता कार्यक्रममार्फत विदेश जाने कोरियालीहरूमध्ये जापान रोज्नेहरू २२ प्रतिशत थिए, जुन सन् २०२० मा बढेर २८ प्रतिशत र सन् २०२५ मा आइपुग्दा ३४ प्रतिशत पुगेको छ। यसको विपरीत, सोही अवधिमा अमेरिका जाने कोरियाली युवाहरूको हिस्सा भने २२ प्रतिशत (सन् २०१५) बाट घटेर १४ प्रतिशत (सन् २०२५) मा खुम्चिएको छ।

कोरियाकाे एक विश्वविद्यालयमा पढ्दै गर्दा जापानकी एक ३५ वर्षकी मोए कासुगाईले त्यहाँका अब्बल छात्रछात्रा पनि गतिलो जागिर पाउन भौंतारिरहेकाे देखेपछि सन् २०१९ मा ‘कोरेक’ नामक एउटा स्टार्टअप सुरु गरिन्। जसले अहिले पनि कोरियाली जब सिकरहरूलाई जापानी कम्पनीहरूसँग जोड्ने काम गरिरहेकाे छ।

कोरियामा सामसुङजस्ता ठूला कम्पनीहरूले नयाँ कामदारभन्दा अनुभव भएका मान्छेलाई मात्र प्राथमिकता दिने र पुराना कर्मचारीहरूले सजिलै जागिर नछोड्ने भएकाले नयाँ युवाहरूलाई प्रवेश पाउन निकै गाह्रो छ। यता जापानमा भने करियरको सुरुआतमै व्यवस्थित तालिम दिएर युवाहरूलाई काममा लगाउने संस्कार छ, जसले गर्दा कोरियालीहरूको लागि यो अवसरको नयाँ भूमि बन्दै गएको छ।

यी दुई देशबीच राजनीतिक इतिहास बेलाबेला चिसो हुने गरे पनि युवाहरूबीचको सम्बन्ध भने दिनप्रतिदिन तातिरहेको छ। कोरियाली तथ्याङ्कअनुसार सन् २०२५ मा मात्रै कोरियाली पुरुष र जापानी महिलाबीचको विवाह अघिल्लो वर्षभन्दा २६ प्रतिशतले बढेर सन् २०२० को तुलनामा दोब्बर पुगेको छ।

उता कोरियाली महिला र जापानी पुरुषबीचको विवाह पनि २९ प्रतिशतले बढेको छ। साथै, आजकल जापान घुम्न जाने विदेशीहरूमा सबैभन्दा धेरै दक्षिण कोरियालीहरू नै पर्छन्।

जापानी कम्पनीहरूलाई चाहिने उच्चस्तरको जापानी भाषा बोल्न सक्ने र छिटो काम सिक्ने भएकाले जापानी रोजगारदाताहरू कोरियाली उम्मेदवारहरूप्रति आकर्षित भएका छन्। सूचना प्रविधि र एआई क्षेत्रमा भविष्य खोज्नेहरूका लागि त जापानको बजार अति नै आकर्षक बनेको छ।