१८ श्रावण २०८३, सोमबार

ड्युअल मोटर र मस्कुलर लुक्ससहित नेपाल एन्ट्री गर्दै ‘एमजी यू ९’ पिकअपः नाईमामा सार्वजनिक गर्ने तयारी



काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रिक गाडी (ईभी) को क्रेज निकै लोभलाग्दो गरी बढिरहेको छ। यही रफ्तारमा नेपाली बजारमा एमजी गाडीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले आफ्ना ग्राहकका लागि एउटा नयाँ र शक्तिशाली सरप्राइज लिएर आउने भएको छ।

कम्पनीले नेपाली बजारमा पहिलो पटक अत्याधुनिक र प्रिमियम इलेक्ट्रिक पिकअप ट्रक ‘एमजी यू९’ भित्र्याउने पक्का गरेको छ। आगामी साउन २७ देखि भदौ ३ गते) सम्म भृकुटीमण्डपमा सञ्चालन हुन गइरहेको बहुप्रतीक्षित ‘नाइमा अटो शो २०२६’ मा यो पिकअप ट्रक आधिकारिक रूपमा सार्वजनिक गरिनेछ। 

अटो शोको प्रदर्शन कक्षमा आगन्तुकहरू तथा गाडी प्रेमीहरूले यसको मस्कुलर लुक्स र फ्युचरिस्टिक डिजाइनलाई प्रत्यक्ष नियाल्न पाउनेछन्। नेपाली बजारमा यो गाडी ‘लग्जरी’ र ‘फ्ल्यागसिप’ गरी दुईवटा विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ।

यो इलेक्ट्रिक पिकअप ट्रक केवल सहरका चिल्ला सडकका लागि मात्र होइन, नेपालका कठिन भू-भाग र कच्ची सडक, खाल्टाखुल्टीमा पनि निकै उपयोगी हुने गरी डिजाइन गरिएको छ। यसको एग्रेसिभ फ्रन्ट ग्रिल, आकर्षक एलइडी हेडल्याम्प र मस्कुलर बडीले यसलाई सडकमा गुड्दा छुट्टै ‘रोड प्रिजेन्स’ दिन्छ।

एउटा चाखलाग्दो तथ्य के छ भने, नेपाली बजारमा यसअघि नै उपलब्ध भइसकेको ‘म्याक्सस ईटेरोन ९’ को नै पुनर्ब्रान्ड र पुनः डिजाइन गरिएको भर्सन ‘एमजी यू९ ईभी’ हो।

एमजीको माउ कम्पनी ‘एसएआइसी मोटर’ अन्तर्गत विकास गरिएका यी दुवै मोडलहरूले एउटै प्लेटफर्म, ड्राइभट्रेन र कोर इन्जिनियरिङ सेयर गर्छन्। यद्यपि, एमजीले यसको भित्री ट्रिम र फिचर्स प्याकेजिङमा केही परिवर्तन गर्दै यू९ लाई बढी लाइफस्टाइल केन्द्रित मोडलको रूपमा उभ्याएको छ।

यो गाडीमा ३,३०० एमएमको लामो ह्विलबेस दिइएको छ, जसले गर्दा यसको क्याबिनभित्र निकै फराकिलो स्पेस पाइन्छ। सामान बोक्नका लागि यसमा ६८५ केजीको पेलोड क्यापासिटी (सामान बोक्ने क्षमता) छ भने ब्रेकसहितको ३,५०० केजी (३.५ टन) सम्मको टोइङ क्यापासिटी (भारी तान्न सक्ने क्षमता) रहेको छ।

यो इलेक्ट्रिक पिकअप ट्रक शक्तिशाली प्रविधि र उत्कृष्ट प्रफर्मेन्सका लागि परिचित छ। यसमा ड्युअल-मोटर सेटअप (पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर्स) जडान गरिएको छ, जसले ३२५ किलोवाटको कुल पावर (अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट) उत्पादन गर्छ। यसले ७०० एनएमको मोटो टर्क (अगाडि २५० एनएम र पछाडि ४५० एनएम) पैदा गर्छ। यही विष्फोटक पावरकै कारण यो पिकअपले मात्र ५.८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको रफ्तार समात्न सक्छ भने यसको टप स्पिड १९० किमी प्रतिघन्टा रहेको छ।

कठिन र खाल्टाखुल्टी परेका सडकमा सहज यात्राका लागि यसमा एयर सस्पेन्सन, अगाडि डबल विसबोन सस्पेन्सन र पछाडि मल्टि-लिङ्क सस्पेन्सन दिइएको छ। साथै नेपालको विविध सडक अवस्था सुहाउँदो एडभान्स्ड अल-टेरेन सिस्टम (एटीएस) छ, जसमा नर्मल, इको, स्पोर्ट, स्नो, टो, अफ-रोड र कस्टम जस्ता मल्टिपल ड्राइभ मोडहरू उपलब्ध छन्।

लामो दूरीको यात्रा सहज बनाउन यसमा १०२.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक राखिएको छ। यो ब्याट्रीले सिङ्गल चार्जमा डब्लूएलटीपी मापदण्डअनुसार ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसमा तीव्र गतिको डिसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ, जसको मद्दतले मात्र ४२ मिनेटमा ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्छ।

यसका साथै यसमा ६.६ किलोवाटसम्मको ‘भिकल-टु-लोड’ (भी २ एल) बाहिरी प्रविधि र गाडीभित्र २.२ किलोवाटका मल्टिपल आउटलेटहरू छन् ।जसले गर्दा यात्राकै क्रममा पनि गाडीभित्रै सजिलैसँग ल्यापटप, क्यामेराका ब्याट्री वा अन्य ग्याजेटहरू चार्ज गर्न सकिन्छ।

यस्तै गाडीभित्र कम्फर्ट र टेक्नोलोजीमा विशेष ध्यान दिइएको छ। यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १२.३ इन्चकै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ८ वटा स्पिकर भएको जेबिएल अडियो सिस्टम जडान गरिएको छ। प्रिमियम अनुभवका लागि लेदर अपहोल्स्ट्री, हिटेड माइक्रोफाइबर लेदर स्टेयरिङ ह्विल र ६४ कलरको एम्बियन्ट लाइटिङ दिइएको छ। यसको ‘फ्ल्यागसिप’ भेरियन्टमा त अझ भेन्टिलेसन, मसाज र मेमोरी फङ्सन सहितको ८-वे इलेक्ट्रिकली एडजस्टेबल ड्राइभर सिट थपिएको छ।

सुरक्षाको मामलामा पनि यो पिकअप निकै अगाडि छ। यसमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ब्लाइन्ड स्पट डिटेक्सन जस्ता आधुनिक फिचर्स छन्। साथै यात्रा र पार्किङलाई सजिलो बनाउन ३६० डिग्री एचडी क्यामेरा र अगाडि-पछाडि पार्किङ सेन्सरहरू जडान गरिएका छन्।