१८ श्रावण २०८३, सोमबार

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन २ खर्ब नाघ्यो, कसले कति कमायो ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा  १२ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्।

प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरूले १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। त्यसको तुलनामा गत आर्थिक वर्षमा कुल बीमा शुल्क १२.४३ प्रतिशतले वृद्धि भएको देखिएको छ।

कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो र नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेका छन्। व्यवसाय विस्तारको दरका हिसाबले भने आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा तीव्र गतिमा अघि बढेका कम्पनीका रूपमा देखिएका छन्।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १२.३४ प्रतिशत बढी हो।

नेशनल लाइफ इन्स्योरेन्सले ११.०६ प्रतिशत वृद्धि गर्दै आफ्नो बीमा शुल्क २४ अर्ब ६८ करोड रुपैयाँ पुर्‍याएको छ। त्यसपछि रहेको एलआईसी नेपालले ६.५७ प्रतिशत वृद्धि गर्दै २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ।

अन्य ठूला कम्पनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको बीमा शुल्क ५.१६ प्रतिशत बढेर १८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। सूर्यज्योति लाइफले १६.५९ प्रतिशत वृद्धि हासिल गर्दै १२ अर्ब ९० करोड रुपैयाँ र एशियन लाइफले १३.५३ प्रतिशत वृद्धि हासिल गर्दै १० अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी भने बीमा शुल्क वृद्धि गर्न नसक्ने एकमात्र कम्पनी बनेको छ। कम्पनीको बीमा शुल्क अघिल्लो वर्षको तुलनामा २.२९ प्रतिशत घटेर ९ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ।

यसैगरी सिटिजन लाइफले २४.९३ प्रतिशत वृद्धि गर्दै ९ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। सानिमा रिलायन्स लाइफको व्यवसाय १६.९९ प्रतिशत बढेर ७ अर्ब ९९ करोड रुपैयाँ, आइएमई लाइफको ३७.९६ प्रतिशत बढेर ७ अर्ब ४५ करोड रुपैयाँ, मेट लाइफको ९.६२ प्रतिशत बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

यस्तै, रिलायबल नेपाल लाइफले २४ प्रतिशत वृद्धि हासिल गर्दै ६ अर्ब ४२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २१ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ३३ करोड रुपैयाँ तथा सन नेपाल लाइफले १६.८० प्रतिशत वृद्धि हासिल गर्दै ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।

जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलनको तथ्यांक