१८ श्रावण २०८३, सोमबार

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सीप तालिम दिई रोजगारीमा जोड्ने तयारी



काठमाडौं। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएका नागरिकलाई रोजगारी र सीप विकासका कार्यक्रममार्फत आत्मनिर्भर बनाउने तयारी सुरु गरिएको छ।

यस विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच छलफल भएको हो।

छलफलबाट होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई उनीहरूको आवश्यकता र रुचिअनुसार तालिम तथा रोजगारीसँग जोड्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सहभागीको सीप, रोजगारीको चाहना र तालिम आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदनमाथि समीक्षा गरिएको थियो।

प्रतिवेदनअनुसार अधिकांश सहभागीले सरसफाइ, बगैँचा व्यवस्थापन, सुरक्षा सेवा, हाउसकिपिङ, सवारी चालक तथा रङरोगनजस्ता क्षेत्रमा काम गर्न रुचि व्यक्त गरेका छन्। उक्त रुचि र सीपलाई आधार मानेर सम्बन्धित व्यक्तिलाई आवश्यक तालिम उपलब्ध गराई रोजगारीमा आबद्ध गराउने निर्णय बैठकले गरेको छ।

कार्यक्रम सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ। मन्त्री यादवले सुकुम्वासी समुदायको आर्थिक सशक्तीकरणका लागि रोजगारी सिर्जना र सीप विकासलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटसहित विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।