१९ श्रावण २०८३, मंगलबार

फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना पुनः सञ्चालनमा ल्याउने तयारी



काठमाडौं। काठमाडौं महानगरपालिकाले लामो समयदेखि बन्द रहेको टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनालाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। दिगो फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच परियोजना पुनर्स्थापनासम्बन्धी समझदारी भएको हो।

समझदारीपत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा एईपीसीका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार आगामी दुई महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य तय गरिएको छ।

परियोजना पुनः सञ्चालनका लागि आवश्यक वित्तीय व्यवस्थापन विश्व बैंकको सहयोगमा एईपीसीले सञ्चालन गरिरहेको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम अन्तर्गत गरिने जनाइएको छ।

सरकारले कुहिने फोहोरको व्यवस्थापनलाई नवीकरणीय ऊर्जा र जैविक मल उत्पादनसँग जोड्ने नीति अघि बढाइरहेका बेला टेकु परियोजनाको पुनः सञ्चालनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच भएको छलफलमा पनि उक्त परियोजनालाई पुनर्जीवित गर्ने, सडकबत्ती व्यवस्थापन तथा मर्मतसम्भारका विषयमा सहकार्य गर्ने विषय उठाइएको थियो।

समझदारी हस्ताक्षर कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले निर्धारित समयभित्र परियोजना सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै नवीकरणीय ऊर्जाका क्षेत्रमा महानगरपालिका र एईपीसीबीचको सहकार्य आगामी दिनमा अझ विस्तार हुने बताइन्।

एईपीसीका कार्यकारी निर्देशक ढकालले परियोजना सञ्चालनका लागि आवश्यक प्राविधिक र प्रशासनिक तयारी भइरहेको जानकारी दिए। उनले विश्व बैंकको सहयोगबाट बजेट सुनिश्चित भइसकेको उल्लेख गर्दै फोहोरबाट ऊर्जा उत्पादन तथा अन्य नवीकरणीय ऊर्जा परियोजनामा पनि महानगरसँग सहकार्यलाई निरन्तरता दिइने बताए।

युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण गरिएको टेकुस्थित यो परियोजना केही समय सञ्चालनमा आए पनि पछि बन्द भएको थियो। अब पुनः सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।