इ–बैंकिङ प्रयोग गर्दा डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अनुरोध
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी सेवाको प्रयोग बढ्दै गएसँगै प्रयोगकर्तालाई साइबर सुरक्षाप्रति सचेत रहन आग्रह गरेको छ। बैंकले डिजिटल वित्तीय अनुशासनसम्बन्धी सूचना सार्वजनिक गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड भुक्तानी र डिजिटल वालेट प्रयोग गर्दा आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने जनाएको हो।
राष्ट्र बैंकका अनुसार डिजिटल प्रविधिको विस्तारसँगै कारोबार सहज, छिटो र कम लागतमा गर्न सकिने भए पनि प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउँदा साइबर जोखिम बढ्न सक्छ। त्यसैले बैंकिङ खातासँग सम्बन्धित युजरनेम, पासवर्ड, पिन र ओटीपी सुरक्षित राख्न र कसैसँग पनि साझा नगर्न आग्रह गरिएको छ।
राष्ट्र बैंकले बलियो पासवर्ड प्रयोग गर्न, बैंकिङ खाताका लागि इमेल वा सामाजिक सञ्जालमा प्रयोग हुने पासवर्डभन्दा फरक पासवर्ड राख्न तथा समय–समयमा पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ। त्यस्तै, मोबाइल नम्बर, जन्ममिति वा सहजै अनुमान गर्न सकिने विवरणलाई पिनको रूपमा प्रयोग नगर्न पनि सचेत गराएको छ।
राष्ट्र बैंकले बैंक खाता, मोबाइल बैंकिङ, डिजिटल वालेट, इमेल तथा अन्य अनलाइन खातामा मल्टी–फ्याक्टर अथेन्टिकेसन (पासवर्ड, पिन र ओटीपी) प्रयोग गर्नुपर्नेमा जोड दिएको छ। साथै, आधिकारिक वेबसाइट र एप मात्र प्रयोग गर्न, ब्राउजरमा बैंकिङ जानकारी सुरक्षित (सेभ) नगर्न तथा अनधिकृत एप डाउनलोड वा इन्स्टल नगर्न पनि आग्रह गरिएको छ।
यसैगरी, अपरिचित व्यक्तिसँग स्क्रिन सेयर नगर्न, स्क्रिन सेयरिङमार्फत वित्तीय कारोबार नगर्न, सुरक्षित वाइफाइ प्रयोग गर्न तथा मोबाइल वा कम्प्युटरमा बायोमेट्रिक प्रमाणीकरण (फिङ्गरप्रिन्ट वा फेस आईडी) सक्रिय गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।
राष्ट्र बैंकका अनुसार साइबर अपराधीहरूले सहजै अनुमान गर्न सकिने पासवर्ड, नक्कली वेबसाइट वा एप, पासवर्ड क्र्याकिङ तथा एउटै पासवर्ड विभिन्न खातामा प्रयोग गर्ने बानीको फाइदा उठाएर बैंकिङ विवरण चोरी गर्न सक्छन्। त्यसैले डिजिटल बैंकिङ प्रयोगकर्ताले साइबर सुरक्षाप्रति विशेष सतर्क रहनुपर्ने आवश्यकता औँल्याइएको छ।
राष्ट्र बैंकले ‘डिजिटल साक्षरता अपनाऔँ, डिजिटल अनुशासन पालना गरौँ’ भन्ने सन्देश दिँदै सुरक्षित डिजिटल वित्तीय प्रणाली निर्माणमा सबै प्रयोगकर्ताको जिम्मेवारी रहेको जनाएको छ। साथै, वित्तीय सेवासम्बन्धी गुनासा तथा ग्राहक संरक्षणका लागि वित्तीय ग्राहक संरक्षण इकाइ तथा gunaso.nrb.org.np मार्फत सम्पर्क गर्न सकिने जानकारी पनि दिएको छ।













