१९ श्रावण २०८३, मंगलबार

एलपी ग्यास उद्योगीको उपभोक्तालाई अपिल : ग्यास सञ्चिति नगर्नुस्, बजार सहज बनाउन सहयोग गर्नुस्



काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभावको अवस्था अन्त्य गर्न उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चिति नगर्न र बजार सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ।

संघले सोमबार जारी गरेको अपिलमा विगतमा अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा (७.१ केजी) सिलिन्डर वितरण गरिएको स्मरण गराएको छ। अहिले भने अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएपछि ग्यास आयात नियमित भइसकेको र पुनः पूरा १४.२ केजीको सिलिन्डर वितरण सुरु गरिएको जनाएको छ।

संघका अनुसार विगत चार महिनामा मासिक करिब ४५ हजार मेट्रिक टन हुने ग्यास खपत घटेर करिब ३२–३८ हजार मेट्रिक टनमा सीमित भएको थियो। अहिले पूरा सिलिन्डर वितरण सुरु भएसँगै धेरै उपभोक्ताले एकैपटक रिफिल गर्न खोज्दा बजारमा अस्थायी चाप देखिएको जनाएको छ।

अपिलमा अहिलेको अवस्था ग्यासको वास्तविक अभाव नभई माग एकैपटक बढेका कारण सिर्जना भएको उल्लेख गरिएको छ। संघले नेपाल आयल निगम, ग्यास उद्योग, विक्रेता र उपभोक्ताले आपसी सहकार्य गरे बजार छिट्टै सामान्य हुने विश्वास व्यक्त गरेको छ।

संघले घरमा करिब एक महिनाका लागि पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई तत्काल रिफिलका लागि लाइनमा नबस्न आग्रह गरेको छ। साथै विक्रेतालाई उपलब्ध ग्यास घरायसी उपभोक्तालाई प्राथमिकताका साथ पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न अनुरोध गरेको छ।

त्यसैगरी उद्योगीहरूले पनि बजारको मागअनुसार नियमित आपूर्ति कायम राख्ने र आवश्यकता परे थप ग्यास आयात गरेर बजार सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा ग्यासका लागि लामो लाइन देखिए पनि नेपाल आयल निगमले पर्याप्त ग्यास आयात भइरहेकाले अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न र हतारमा खरिद नगर्न उपभोक्तालाई आग्रह गर्दै आएको छ।