१९ श्रावण २०८३, मंगलबार

भारतमा युपीआईको नयाँ कीर्तिमान, नेपालमा पनि बढ्दै छ डिजिटल कारोबार



काठमाडौं । डिजिटल प्रविधिको विस्तारसँगै भारत र नेपालमा नगदरहित भुक्तानी प्रणालीको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। भारतमा युपीआईले जुलाई महिनामा अहिलेसम्मकै उच्च कारोबार रेकर्ड बनाउँदा नेपालमा पनि मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा अन्तरबैंक डिजिटल कारोबार निरन्तर विस्तार भइरहेको छ।

छिमेकी मुलुक भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई)ले गत जुलाई महिनामा कारोबार संख्या र रकम दुवैका आधारमा नयाँ कीर्तिमान बनाएको छ। भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपिसिआई)ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जुलाई महिनामा युपीआईमार्फत २ हजार ३६६ करोड पटक कारोबार भएको छ। यो संख्या जुन महिनाको तुलनामा ४.१ प्रतिशत बढी हो।

रकमका आधारमा हेर्दा सो अवधिमा २९ लाख ८८ हजार करोड भारतीय रुपैयाँ बराबरको भुक्तानी भएको छ, जुन अघिल्लो महिनाभन्दा ३.३ प्रतिशतले बढी रहेको छ।

गत वर्षको जुलाई महिनासँग तुलना गर्दा कारोबार संख्या २२ प्रतिशत र कारोबार रकम १९ प्रतिशतले वृद्धि भएको देखिन्छ। बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार जुलाईमा कुनै ठूलो चाडपर्व वा मौसमी खरिदबिक्री नभए पनि कारोबारमा आएको उल्लेखनीय वृद्धि डिजिटल भुक्तानी अब भारतीय जनजीवनको स्थायी हिस्सा बनिसकेको संकेत हो ।

नेपालमा पनि बढ्दै छ डिजिटल कारोबार

भारतमा एनपिसिआईले सञ्चालन गर्ने युपीआई जस्तै नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सञ्चालन गर्ने कनेक्ट आइपिएस र नेपालपे राष्ट्रिय अन्तरबैंक भुक्तानी पूर्वाधारका रूपमा प्रयोग हुँदै आएका छन्।

यी प्रणालीमार्फत बैंकका मोबाइल बैंकिङ एप प्रयोग गरेर एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउन, क्यूआर स्क्यान गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न तथा विभिन्न डिजिटल सेवाको भुक्तानी गर्न सकिन्छ।

नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकले नेपालमा पनि डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको देखाएका छन्। नेपालमा हाल प्रत्येक महिना करिब १० खर्ब रुपैयाँभन्दा बढी बराबरको विद्युतीय कारोबार हुने गरेको छ।

नेपालमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था राष्ट्रिय भुक्तानी पूर्वाधारसँग आबद्ध छन्। देशभर १५ लाखभन्दा बढी व्यापारिक प्रतिष्ठानमा क्यूआरमार्फत भुक्तानी सुविधा उपलब्ध छ भने मोबाइल बैंकिङ र डिजिटल वालेट प्रयोगकर्ताको संख्या निरन्तर बढिरहेको छ।

सरकारी राजस्व भुक्तानी, सेयर बजारको राफसाफ, सामाजिक सुरक्षा भत्ता वितरण तथा विप्रेषण (रेमिट्यान्स) जस्ता सेवामा समेत डिजिटल माध्यमको प्रयोग उल्लेखनीय रूपमा बढेको छ।

अन्तरसीमा भुक्तानीतर्फ नयाँ सम्भावना

नेपाल–भारतबीच हालै सुरु भएको अन्तरसीमा डिजिटल भुक्तानी व्यवस्थाले दुवै देशका नागरिक र पर्यटन क्षेत्रलाई नयाँ सुविधा उपलब्ध गराएको छ। यसअन्तर्गत भारतबाट नेपाल आउने पर्यटकले आफ्नो युपीआई समर्थित एपमार्फत नेपालका क्यूआर कोडमा सोझै भुक्तानी गर्न सक्छन्।

त्यसैगरी, नेपाली प्रयोगकर्ताले पनि भारत भ्रमणका क्रममा आफ्नो बैंकिङ एप वा डिजिटल वालेटमार्फत डिजिटल भुक्तानी गर्न सक्ने वातावरण विस्तार हुँदै गएको छ। यसले नगद साट्ने झन्झट कम गर्नुका साथै सीमापार कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।

डिजिटल भुक्तानीको विस्तारले केवल भुक्तानी प्रक्रिया सहज बनाएको मात्रै छैन, वित्तीय पारदर्शिता, औपचारिक अर्थतन्त्रको विस्तार तथा राजस्व चुहावट नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ।

भारतमा युपीआईको बढ्दो कारोबार र नेपालमा डिजिटल भुक्तानी पूर्वाधारको विस्तारले नगदरहित कारोबारतर्फ दुवै देशको यात्रा थप सुदृढ बन्दै गएको देखाएको छ।