हवाई इन्धन महँगिएसँगै उकालो लाग्यो आन्तरिक उडानको भाडा, कहाँ जान कति थपियो?
हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढेसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले थपे इन्धन शुल्क, सबैभन्दा बढी धनगढी उडानको भाडा ८८० रुपैयाँले महँगियो।
काठमाडौँ । नेपालमा आन्तरिक हवाई यात्रा फेरि एकपटक महँगिएको छ। नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेसँगै वायुसेवा सञ्चालकहरूले पनि उडान भाडामा इन्धन शुल्क थप गरेका छन्।
निगमले इन्धनको मूल्य समायोजन गर्दा त्यसको प्रत्यक्ष प्रभाव हवाई टिकटको दरमा पर्ने गर्दछ। यसअघि गएको असार १६ गते इन्धनको मूल्य लिटरमै ४० रुपैयाँ घटेसँगै वायुसेवा कम्पनीहरूले पनि सोही अनुपातमा भाडा घटाएका थिए। तर, साउन १८ गतेबाट इन्धनको मूल्य पुनः बढेर आएपछि विमान कम्पनीहरूले पनि टिकटमा नयाँ शुल्क जोडेर लिन थालेका छन्।
इन्धनको मूल्य बढेसँगै देशका विभिन्न आन्तरिक गन्तव्यहरूको यात्राका लागि यात्रुले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। वायुसेवा कम्पनीहरूका अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य मानिएको धनगढी उडानमा सबैभन्दा धेरै ८८० रुपैयाँले इन्धन शुल्क बढेको छ।
यसैगरी, काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा ६८८ रुपैयाँ र सुर्खेत उडानमा ६९० रुपैयाँले शुल्क वृद्धि भएको छ। लामो दूरीका अन्य गन्तव्यहरू नेपालगन्जमा ६५४, भद्रपुरमा ५६०, विराटनगरमा ४७८ र भैरहवामा ४१० रुपैयाँसम्म इन्धन शुल्क थपिएको छ।
निकट र सुगम मानिएका अन्य विमानस्थलतर्फ भने तुलनात्मक रूपमा कम शुल्क बढेको छ। काठमाडौंबाट राजविराजमा ४०५, तुम्लिङटारमा ३६८, पोखरामा ३१४, जनकपुरमा २५८ र भरतपुरमा २१२ रुपैयाँ इन्धन शुल्क वृद्धि भएको छ। त्यस्तै, काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य मानिएको सिमरा उडानमा भने सबैभन्दा कम १८३ रुपैयाँ मात्र इन्धन शुल्क बढेको छ।
वायुसेवा कम्पनीहरूले इन्धन शुल्कबाहेक पनि यात्रुहरूबाट संकलन गर्ने कुल टिकट मूल्यमा न्यूनतमदेखि अधिकतम आधारभूत भाडादर, विमानस्थल सेवा शुल्क र त्यसमा लाग्ने कर (भ्याट) समेत जोड्ने गरेका छन्।
यसरी हेर्दा गन्तव्यअनुसार यात्रुले तिर्ने कुल भाडादर फरक–फरक हुने गरेको छ। हालको मूल्य समायोजनपश्चात् काठमाडौंबाट हुने उडानहरूमा धनगढीका लागि ६ हजारदेखि १० हजार रुपैयाँसम्म, नेपालगन्जका लागि १८ सयदेखि ७४ सय रुपैयाँसम्म र भद्रपुरका लागि १७ सयदेखि ६९ सय रुपैयाँसम्म भाडा कायम भएको छ।
त्यसैगरी, विराटनगरका लागि १३ सयदेखि ५५ सय, भैरहवाका लागि ११ सयदेखि ४७ सय, पोखराका लागि ९ सयदेखि ३६ सय, जनकपुरका लागि ७ सयदेखि २९ सय, भरतपुरका लागि ६ सयदेखि २६ सय, सिम्रिएक तथा सिमराका लागि ५ सयदेखि २ हजार र सुर्खेतका लागि ५१७ देखि २ हजार रुपैयाँसम्मको भाडादर निर्धारण गरिएको छ।
सुगम क्षेत्रका यी सबै विमानस्थलहरूबाट यात्रा गर्दा यात्रुहरूले विमानस्थल सेवा शुल्कसमेत अनिवार्य रूपमा टिकटमै जोडेर तिर्दै आएका छन्।
आन्तरिक वायुसेवामा इन्धनवापतको शुल्क (रू.)














