१९ श्रावण २०८३, मंगलबार

अर्थमन्त्रीले बीमाको अध्ययन गर्न समिति बनाए, तर बीमकलाई भेट्न समय नै दिएनन्



काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेपछि बीमकहरु भने अचम्ममा परेका छन् ।

नेपाल बीमक संघले पाँच हप्ता अघि नै भेट्नका लागि समय माग्दा अहिलेसम्म नदिएका अर्थमन्त्रीले तीन सदस्यीय समिति बनाएर ९० दिने म्याद तोकेपछि आफूहरु अचम्ममा परेको एक बीमा कम्पनीका सीईओले बताए ।

निर्जीवन बीमा कम्पनीका सबै सीईओहरु सहभागी क्लब नेपाल बीमक संघले असार ११ मै अर्थमन्त्रालयमा एउटा लिखित पत्र दर्ता गराएर बीमा क्षेत्रका विषयमा छलफल गर्न चाहेको निवेदन गरेको थियो ।

‘आ.व. २०८३/८४ को लागि पारित बजेट, पुनर्बीमा सम्बन्धी नीति तथा समग्र बीमा क्षेत्रको समस्या एवम् विकासको सम्बन्धमा’ छलफल गर्न खोजेको संघको पत्रमा उल्लेख छ ।

‘प्रत्यक्ष रुपमा बीमक संघबाट केही विषयहरु राख्नका लागि समय उपलब्ध गराईदिनु हुन अनुरोध छ’ भनेर संघका अध्यक्ष वीरेन्द्र वैदवार, उपाध्यक्ष अशोक खड्का र महासचिव सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेको पत्र असार ११ मा अर्थ मन्त्रालयमा दर्ता भएको थियो ।

तर अर्थमन्त्री वाग्लेले उनीहरुको यस्तो मागलाई बेवास्ता गर्दै बीमा क्षेत्रको समस्या पहिचान गर्न र सुधारका प्रस्ताव राख्न भनेर अलग्गै समिति बनाउनतिर ध्यान दिएका छन् ।

‘बीमा क्षेत्रको सबैभन्दा राम्रो ज्ञान त बीमकहरुलाई नै हुन्छ होला । तर अर्थमन्त्रीले हामीलाई बेवास्ता गर्नु भो’, एक निर्जीवन बीमा कम्पनीका सीईओ भन्छन् । बजार सञ्चालन गर्ने साझेदारहरुलाई बेवास्ता गरेर भिन्दै सुझाव समिति बनाउन थाल्नुले अझै कम्तिमा तीन महिना बीमा क्षेत्रमा सुखद सन्देश प्राप्त नहुने हो कि भन्ने चिन्तामा बीमकहरु परेको उनले बताए ।

यद्यपि, आज नेपाल बैंकर्स संघमा आबद्ध सबै वाणिज्य बैंकका सीईओहरुलाई भेटेका अर्थमन्त्रीले क्रमश: बीमाका सीईओहरुलाई पनि भेट्नसक्नेमा उनीहरु आशावादी पनि छन् ।

अहिले नेपालमा बैंकले निक्षेप लिनै नमान्ने अवस्था आएको र लिए पनि ब्याजदरले सञ्चालन खर्च धान्नै नसक्ने परिस्थिति बनेपछि बीमकहरु विदेशी बजारका सुरक्षित उपकरणमा लगानीको बाटो खोल्न माग गर्दै आएका छन् ।

उनीहरुले यसअघिका सरकारहरुलाई पनि यो विषयमा ‘कन्भिन्स’ गर्ने कोसिस गरेका थिए । सुशिला कार्की नेतृत्वको चुनावी सरकारको पालामा त यस्तो विषय निकै चर्कोसँग उठेको थियो । तर त्यस बेला खासै सम्बोधन नभएको यो समस्याले अहिले पनि अप्ठेरो पारिरहेको छ ।

उता, नियामक नेपाल बीमा प्राधिकरण लामो समयदेखि नेतृत्व बिहिन रहँदै आएको छ । कर्मचारीको भरमा नियामक सञ्चालन गर्दा कयौँ अप्ठेरा परिस्थितिको सामना गर्नु परेको बीमकहरु बताउँछन् । यस्तो बेला सरकारको साथ खोजेका बीमकले अर्थमन्त्रीबाटै आफ्नो निवेदनको सुनुवाई नभएपछि निराशा छाएको बताएका छन् ।

Tags :