सुनचाँदीको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो। मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ४ हजार ३८० रुपैयाँको तुलनामा प्रतितोला ९५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दै जाँदा सुनको मूल्य उकालो लागेको छ। त्यसैको प्रभावस्वरूप नेपाली बजारमा पनि सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन्।













