२० श्रावण २०८३, बुधबार

ग्यास अभावको गुनासो तत्काल सम्बोधन गर्न क्विक रेस्पोन्स टिम सञ्चालनमा



काठमाडौं । एलपीजी ग्यासको आपूर्ति र वितरणमा देखिने समस्या छिटो समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको निगमले जनाएको छ।

ग्यास आपूर्तिसम्बन्धी गुनासा तत्काल सम्बोधन गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिहरू सम्मिलित संयुक्त संयन्त्र तयार गरिएको हो। यसमार्फत देशभर जहाँसुकै ग्यासको अभाव, वितरणमा अवरोध वा अन्य समस्या देखिएमा सम्बन्धित निकायबीच समन्वय गरेर समाधान खोजिने व्यवस्था गरिएको छ।

गठित टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधिका रूपमा मङ्गल बिष्ट रहेका छन्। नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी सदस्य छन् भने ग्यास उद्योगको तर्फबाट आयुस नेपाल र कुलप्रसाद राई सहभागी छन्।

निगमका अनुसार उपभोक्ताबाट हटलाइनमार्फत प्राप्त हुने गुनासोलाई आधार बनाएर सम्बन्धित ग्यास उद्योग, वितरक तथा डिलरसँग समन्वय गरिनेछ। त्यसपछि आवश्यक पहल गर्दै प्रभावित क्षेत्रमा ग्यास आपूर्ति नियमित बनाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।

हालका दिनमा विभिन्न जिल्लाबाट एलपीजी ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै गुनासा बढ्न थालेपछि तत्काल प्रतिक्रिया दिने संयन्त्र आवश्यक ठहर गर्दै यो टोली गठन गरिएको निगमको भनाइ छ। कार्यालय समयभित्र प्राप्त हुने उजुरीलाई प्राथमिकताका साथ हेरेर सकेसम्म छिटो समाधान निकाल्ने गरी टोलीले काम गर्नेछ।

ग्यास आपूर्ति वा वितरणमा कुनै समस्या परेमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा दर्ता भएका गुनासोलाई क्विक रेस्पोन्स टिमले सम्बन्धित पक्षसँग समन्वय गरी समाधान प्रक्रियामा लैजाने व्यवस्था गरिएको निगमले जनाएको छ।