२१ श्रावण २०८३, बिहिबार

कृषि विकास बैंकको ब्याज आम्दानी ९ अर्ब नाघ्याे, एक वर्षमा साढे २ खर्ब कर्जा लगानी, कस्ता छन् अन्य सूचक ?



काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा उल्लेख्य सुधार दर्ता गरेको छ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ९.२४ प्रतिशतले बढेर ९ अर्ब १२ करोड १५ लाख ८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ८ अर्ब३५ करोड २ लाख ६९ हजार रुपैयाँ रहेको थियो।

मुख्य ब्याज आम्दानीसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ७.१९ प्रतिशतले वृद्धि भई ११ अर्ब २७ करोड २ लाख २५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंककाे कुल सञ्चालन आम्दानी १० अर्ब ५१ करोड ३० लाख २ हजार रुपैयाँ रहेको थियो।

आम्दानीका मुख्य सूचकहरूमा सुधार आए तापनि इम्पेयरमेन्ट चार्ज (इम्प्यायरमेन्ट घाटा) अघिल्लो वर्षको ६३ करोड ७७ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेकाे छ।

सञ्चालन खर्चहरूमा वृद्धि हुँदा बैंकको खुद नाफामा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब ६३ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेकोमा समीक्षा वर्षमा २९.३१ प्रतिशतको गिरावट देखिएको हो।

यस्तै, बैंकको सञ्चालन मुनाफा पनि २५.५० प्रतिशतले घटेर ५ अर्ब ३६ करोड ८१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ।

नाफामा आएको सङ्कुचनसँगै बैंकको लाभांश क्षमतामा पनि असर परेको छ। विभिन्न कोष तथा नियमनकारी समायोजनपश्चात् समीक्षा अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष २ अर्ब ८१ करोड ६६ लाख ६९ हजार रुपैयाँ रहेको थियो।

यस आधारमा बैंकको वार्षिक प्रतिशेयर वितरणयोग्य मुनाफा ६.५४ रुपैयाँ रहेको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २४.५९ रुपैयाँबाट घटेर १६.१६ रुपैयाँमा झरेको छ। यस्तै, बैंकको खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको ३.४४ प्रतिशतबाट केही बढेर ४.०७ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर (बेस रेट) ५.८७ प्रतिशतबाट घटेर ४.५६ प्रतिशतमा झरेको छ भने स्प्रेड रेट ३.६६ प्रतिशत र पुँजी कोष अनुपात १३.२९ प्रतिशतको सबल अवस्थामा रहेको छ।

व्यवसाय विस्तारतर्फ हेर्दा १९ अर्ब ३८ करोड २३ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले आफ्नो निक्षेप र कर्जाको आकार भने थप बढाएको छ। असार २०८३ सम्ममा बैंकले सर्वसाधारण तथा विभिन्न संस्थाबाट २ खर्ब ५७ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।