२१ श्रावण २०८३, बिहिबार

विद्युत बिक्री र हकप्रद शेयरको चमत्कार, नोक्सानीबाट उब्रियो बुद्धभूमि हाइड्रोपावर



विद्युत बिक्रीमा आकर्षक छलाङ मार्दै र महँगो ब्याजभार घटाउँदै बुद्धभूमि नेपाल हाइड्रोपावरले अघिल्लो वर्षको करोडौँको घाटालाई पूर्ण रूपमा पन्छाएर खुद नाफा आर्जन गर्न सफल भएको छ।

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वित्तीय विवरणमा उल्लेख्य सुधार गर्दै घाटाबाट बाहिर निस्किएको छ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले लामो समयदेखिको नोक्सानीलाई किनारा लगाउँदै खुद नाफा कमाउन सफल भएको हो। बढ्दो विद्युत बिक्री, सञ्चालन खर्चको व्यवस्थापन र हकप्रद शेयरबाट जुटाइएको पुँजीको सही सदुपयोगले कम्पनीको वित्तीय स्वास्थ्यमा यो कायापलट ल्याएको देखिन्छ।

कम्पनीको मुख्य आम्दानीको स्रोत मानिने विद्युत बिक्रीको आयमा उल्लेख्य प्रगति भएको छ। अघिल्लो आर्थिक वर्ष १४ करोड ३७ लाख रुपैयाँमा सीमित रहेको विद्युत बिक्रीको आम्दानी समीक्षा वर्षमा २८ दशमलव ६८ प्रतिशतले बढेर १८ करोड ५० लाख रुपैयाँ पुगेको छ।

यसरी आम्दानी बढेसँगै कम्पनीको कोर बिजनेसबाट हुने नाफा पनि उकालो लागेको छ। अघिल्लो वर्ष ६ करोड ३५ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा गत वर्ष ४२ दशमलव ४५ प्रतिशतले छलाङ मार्दै ९ करोड ५ लाख रुपैयाँमा पुगेको छ।

हाइड्रोपावर क्षेत्रका कम्पनीहरूका लागि टाउको दुखाइको विषय बन्ने बैंक ऋणको ब्याज तथा वित्तीय खर्चमा पनि राहत महसुस भएको छ। अघिल्लो वर्ष ८ करोड ७५ लाख रुपैयाँ तिर्दै आएको वित्तीय खर्च घटेर ७ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

यसका साथै, कम्पनीले सय प्रतिशत हकप्रद शेयरमार्फत पुँजी वृद्धि गरेको छ। अघिल्लो वर्ष ४० करोड रुपैयाँ रहेको चुक्ता पुँजी बढेर ८० करोड रुपैयाँ पुगेपछि कम्पनीको समग्र पुँजीगत आधार निकै बलियो बनेको छ।

लामो समयदेखि ऋणात्मक रहेको जगेडा कोषलाई कम्पनीले सकारात्मक ट्र्याकमा ल्याउन सफल भएको छ। अघिल्लो आर्थिक वर्ष १० करोड ४७ लाख रुपैयाँ सञ्चित घाटा व्यहोरेको यस कम्पनीले गत असार मसान्तसम्म आइपुग्दा उक्त घाटालाई पूर्ण रूपमा शून्यमा झार्दै ३० लाख ५९ हजार रुपैयाँ धनात्मक जगेडा कोष खडा गरेको छ।

हकप्रदबाट उठेको रकममार्फत भारी मात्रामा बैंक ऋण भुक्तानी गरिएका कारण दीर्घकालीन ऋण ९१ करोड ५६ लाखबाट घटेर ७३ करोड ८९ लाख रुपैयाँमा झरेको छ। यससँगै कम्पनीको कुल सम्पत्ति १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को चैत्र महिनादेखि व्यावसायिक उत्पादन सुरु गरेको ४ दशमलव ९९ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजनाबाट निरन्तर रूपमा विद्युत बिक्री गर्दै आएको छ।

लामो समयको प्रयासपछि सञ्चित घाटा शून्यमा झरेर जगेडा कोष धनात्मक बन्नु र कम्पनी खुद नाफामा फर्किएसँगै अबका दिनमा लगानीकर्ता वा शेयरधनीहरूका लागि लाभांशको ढोका खुल्ने बलियो आधार तयार भएको छ।