२१ श्रावण २०८३, बिहिबार

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत ‘नेपालपे’ कार्ड सेवा सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकले आफ्ना ग्राहकलाई ‘नेपालपे’ कार्ड जारी गर्न सक्नेछ। साथै, अन्तर्राष्ट्रिय कार्ड सञ्जालअन्तर्गतका कार्ड र ‘नेपालपे’ कार्डका कारोबार पनि प्रशोधन गर्न सक्ने व्यवस्था हुनेछ।

एनसीएचएलका अनुसार ‘नेपालपे’ कार्डको व्यावसायिक विस्तार सुरु भएसँगै अब यो कार्ड नेपालभित्र मात्र नभई विदेशमा रहेका नगद झिक्ने स्वचालित मेसिन (एटीएम) र बिक्रीस्थलमा राखिएका भुक्तानी मेसिन (पीओएस) मार्फत पनि प्रयोग गर्न सकिनेछ।

हाल एनसीएचएलको विद्युतीय कोष स्थानान्तरण प्रणालीमार्फत ११ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्डका कारोबार प्रशोधन गरिरहेका छन्। राष्ट्रिय भुक्तानी प्रणालीसँग एकीकरण भएपछि अब ‘नेपालपे’ कार्डका कारोबार पनि यही प्रणालीबाट सञ्चालन गर्न सकिने भएको हो।

एनसीएचएलका अनुसार हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था ‘नेपालपे’ प्रणालीमा आबद्ध भएका छन्। तीमध्ये ८ वटा संस्थाले ‘नेपालपे’ कार्ड जारी गर्न थालेका छन् भने ११ भन्दा बढी संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालन गरिसकेका छन्।

ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। बैंकले देशभर १२१ शाखा, २ विस्तारित सेवा कक्ष र ७५ वटा स्वचालित नगद झिक्ने मेसिनमार्फत सेवा प्रदान गर्दै डिजिटल बैंकिङ सेवाको विस्तारलाई तीव्र बनाइरहेको जनाएको छ।