२२ श्रावण २०८३, शुक्रबार

हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढ्यो, कुल सम्पत्ति साढे १२ अर्ब माथि



काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको २१ करोड ६१ लाख ७० हजार रुपैयाँको तुलनामा ८४.४५ प्रतिशतले बढी हो ।

कम्पनीको वित्तीय विवरणअनुसार गत वर्ष कर्जा कारोबार पनि उल्लेख्य रूपमा विस्तार भएको छ । कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले बढेर १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कर्जा विस्तारमा विशेषगरी सवारी साधन वित्तीयकरणको योगदान महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।

कर्जा विस्तारसँगै कम्पनीले खराब कर्जा नियन्त्रणमा समेत सुधार गरेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) अनुपात गत वर्ष घटेर १.८७ प्रतिशतमा आएको छ ।

गत वर्ष कम्पनीको कुल सम्पत्ति पनि बढेको छ । ८ अर्ब ४३ करोड रुपैयाँ रहेको कुल सम्पत्ति बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल स्वपुँजी १ अर्ब ४९ करोडबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको शुद्ध ब्याज आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड १० लाख रुपैयाँ रहेको शुद्ध ब्याज आम्दानी गत वर्ष बढेर ४८ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, सञ्चालन नाफा ३३ करोड ५२ लाख ८० हजार रुपैयाँबाट बढेर ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

प्रमुख वित्तीय सूचकमा पनि सुधार देखिएको छ । वार्षिकीकृत स्वपुँजी प्रतिफल (आरओई) १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ । वार्षिकीकृत आधारभूत प्रतिशेयर आम्दानी २६.०४ रुपैयाँबाट बढेर ४८.०४ रुपैयाँ पुगेको छ ।

कम्पनीको कोषको लागतसमेत घटेको छ । अघिल्लो वर्ष ६.४० प्रतिशत रहेको कोषको लागत गत वर्ष ५.७७ प्रतिशतमा झरेको छ । यसैगरी, ब्याजदर अन्तर १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ ।

कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार निजी क्षेत्रमा कर्जा विस्तार सुस्त रहेको र वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसम्बन्धी चुनौती कायमै रहे पनि व्यवसाय विस्तार, सञ्चालन दक्षता, जोखिम व्यवस्थापन तथा कर्जा असुलीमा सुधारका कारण वित्तीय प्रदर्शन बलियो बनाउन सफल भएको हो ।

कम्पनीले आगामी दिनमा कर्जा पोर्टफोलियो विस्तारलाई निरन्तरता दिँदै सम्पत्तिको गुणस्तर सुधार, कर्जा असुली प्रणालीलाई थप प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति अघि सारेको जनाएको छ ।