हाइड्रो लगानीकर्तालाई सुखद सरप्राइज: चारै कम्पनीको नाफा र ईपीएसमा उछाल, कुन कम्पनी कति बलियो?
काठमाडाैं। जलविद्युत क्षेत्रका लगानीकर्ताहरूका लागि सुखद उत्साह थप्दै नेपालका चार प्रमुख हाइड्रोपावर कम्पनीहरूले चालु आर्थिक वर्षमा लोभलाग्दो वित्तीय प्रगति दर्ता गरेका छन्।
सोमबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको वित्तिय विवरण अनुसार स्नो रिभर्स लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आफ्नो नाफा, आम्दानी र प्रतिसेयर आम्दानी (ईपीएस) मा उल्लेख्य वृद्धि गर्दै बलियो उपस्थिति देखाएका हुन्।
लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने खुद नाफा कमाउने मामिलामा १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी भएको सबैभन्दा ठूलो कम्पनी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ, जसले २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
नाफाकै दौडमा दोस्रो स्थानमा ११ करोड १८ लाख रुपैयाँ सहित स्नो रिभर्स लिमिटेड रहेको छ भने तेह्रथुम पावरले ८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ६ करोड ८५ लाख रुपैयाँ घाटामा रहेको पञ्चकन्या माई हाइड्रोपावरले भने ६ करोड ६७ लाख रुपैयाँ नाफा कमाउँदै ऐतिहासिक रूपमा नाफामा फर्किएर सरप्राइज दिएको छ।
व्यवसायिक आम्दानी (विद्युत बिक्री) तर्फको वृद्धिदरलाई केलाउँदा स्नो रिभर्स लिमिटेडले सबैलाई माथ खुवाएको छ। स्नो रिभर्सले अघिल्लो वर्षको तुलनामा विद्युत बिक्री आम्दानी १०१.९५ प्रतिशतको विशाल वृद्धि सहित ३७ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ। आम्दानीकै आकारमा भने ३४ करोड ७१ लाख रुपैयाँ सहित पञ्चकन्या माई दोस्रो स्थानमा छ, जसको आम्दानी १८.४३ प्रतिशतले बढेको हो।
उता तेह्रथुम पावरको आम्दानी १७.८६ प्रतिशतले बढेर १८ करोड २६ लाख रुपैयाँ पुग्दा, सबैभन्दा धेरै नाफा कमाउने अप्पर सोलुको आम्दानी भने १.९७ प्रतिशतको सामान्य वृद्धि सहित ७३ करोड ८२ लाख रुपैयाँमा सीमित भएको देखिन्छ।
अप्पर सोलु र तेह्रथुम पावरको नाफा बढ्नुमा विद्युत बिक्री भन्दा पनि वित्तीय खर्चमा क्रमशः २९.५८ प्रतिशत र ६२.०२ प्रतिशतले आएको भारी गिरावट मुख्य कारक बनेको छ।
प्रतिसेयर आम्दानी (ईपीएस) र कम्पनीको भित्री मूल्य (नेटवर्थ) को तुलना गर्दा अप्पर सोलु हाइड्रो १५.४६ रुपैयाँ ईपीएस सहित पहिलो स्थानमा सुरक्षित छ। यसैगरी स्नो रिभर्स ११.९३ रुपैयाँ र तेह्रथुम पावर ११.१७ रुपैयाँ ईपीएस सहित बलियो प्रतिष्पर्धामा छन् भने नाफामा भर्खरै फर्किएको पञ्चकन्या माईको ईपीएस ६.०७ रुपैयाँ छ।
प्रतिसेयर नेटवर्थको आधारमा भने तेह्रथुम पावर १३०.६४ रुपैयाँ सहित सबैभन्दा बलियो स्थितिमा छ। त्यसपछि अप्पर सोलुको ११९.०२ रुपैयाँ र स्नो रिभर्सको ११२.०९ रुपैयाँ नेटवर्थ रहँदा, अझै पनि १८ करोड २६ लाख रुपैयाँ ऋणात्मक जगेडा कोष बोकेको पञ्चकन्या माईको नेटवर्थ सबैभन्दा कम ८३.३९ रुपैयाँ मात्र छ।
सेयर बजारको मूल्यांकन (पीई रेसियो) को दृष्टिकोणबाट हेर्दा तेह्रथुम पावर र अप्पर सोलु हाइड्रोपावर क्रमशः ३१.२५ गुणा र ३१.६२ गुणा सहित सस्तो र आकर्षक मूल्यांकनमा उपलब्ध देखिन्छन्। यसको तुलनामा पञ्चकन्या माईको ५२.०३ गुणा र स्नो रिभर्सको ६५.३१ गुणा पीई रेसियो हुनुले यी कम्पनीको सेयर मूल्य आम्दानीको तुलनामा केही प्रिमियम (महँगो) रहेको संकेत गर्छ।
समग्रमा, जगेडा कोषलाई १५ करोड ऋणात्मकबाट २ करोड ९० लाख धनात्मक बनाउने तेह्रथुम र घाटाबाट नाफामा आउने पञ्चकन्या माईको सुधार लोभलाग्दो छ भने स्थिर आम्दानी र उच्च नाफाका कारण अप्पर सोलु र स्नो रिभर्स जलविद्युत क्षेत्रका बलिया खम्बाका रूपमा उभिएका छन् ।













