समस्याग्रस्त सहकारीका ठूला बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु, स्रोत खुलाउनुपर्ने
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ठूला बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। त्यसका लागि समितिले एक करोड रुपैयाँ वा सोभन्दा बढी बचत रहेका बचतकर्ताको विवरण संकलन गर्न थालेको हो।
समितिले विभिन्न समयमा समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाका बचतकर्तामध्ये अनलाइनमार्फत बचत फिर्ताको मागदाबी गरिसकेका ठूला बचतकर्तालाई स्वघोषणा फाराम भरेर बुझाउन आग्रह गरेको छ।
समितिका अनुसार एक करोड रुपैयाँ वा त्यसभन्दा बढी बचत दाबी गरेका बचतकर्ताले तोकिएको फाराममा आफ्नो बचत रकमको स्रोतसम्बन्धी विवरण स्पष्ट रूपमा खुलाउनुपर्नेछ । बचत रकम व्यापार, रोजगारीबाट प्राप्त पारिश्रमिक, घरजग्गा बिक्री, पैतृक सम्पत्ति, वैदेशिक रोजगारीलगायत कानुनी आयस्रोतबाट प्राप्त भएको पुष्टि हुने विवरण दिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, बचत रकम आर्जन गर्दा कानूनअनुसार तिर्नुपर्ने कर तथा अन्य दायित्व पूरा गरेको घोषणा पनि गर्नुपर्नेछ । उक्त रकम सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी, भ्रष्टाचार वा अन्य आपराधिक गतिविधिबाट प्राप्त नभएको स्वघोषणा गर्नुपर्ने समितिले जनाएको छ ।
बचत फिर्तासम्बन्धी विषयमा कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय, प्रहरी अथवा अनुसन्धान गर्ने निकायमा उजुरी, दाबी वा मुद्दा नरहेको विवरणसमेत फाराममा उल्लेख गर्नुपर्नेछ ।
यसैगरी, बचत मिलानअन्तर्गत फिर्ता हुने रकमका सम्बन्धमा भविष्यमा समेत कुनै निकायमा उजुरी वा दाबी नगर्ने प्रतिबद्धता बचतकर्ताले जनाउनुपर्ने व्यवस्था गरिएको छ ।
समितिले स्वघोषणामार्फत प्राप्त विवरणका आधारमा ठूला बचतकर्ताको बचत फिर्ता हुने छ।













