प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडाैँ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको यो भेटलाई दुई देशबीचको सम्बन्धलाई थप गति दिने अर्थमा हेरिएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको शताब्दीऔं पुरानो द्विपक्षीय मित्रता, पारस्परिक हितका विषयहरू तथा विकास साझेदारीलाई अझै प्रभावकारी बनाउने सहकार्यका विविध पाटामा गम्भीर कुराकानी भएको जनाइएकाे छ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको आत्मीय सम्बन्ध र सहयोगको दायरालाई आगामी दिनमा अझै सुदृढ र विस्तृत बनाउने दृढ प्रतिबद्धता दोहोर्याएका छन्। लामो समयदेखि रहिआएको मित्रवत् सम्बन्धलाई समयानुकूल फराकिलो बनाउनुपर्नेमा उनको जोड रहेको थियो।
जवाफमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक र अटुट सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। दुई छिमेकी मुलुकबीचका साझा हितका क्षेत्रमा आपसी सहकार्य र समझदारीलाई अझ प्रगाढ बनाउँदै अघि बढ्नुपर्ने उनले बताएका छन्।
यस किसिमका कूटनीतिक भेटघाटले दुई देशबीचको सम्बन्धलाई थप मजदुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
प्रधानमन्त्री शाहले अाजै दिउँसाे चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने तय भएकाे छ ।













