नाइमामा धमाका गर्न तयार बीवाईडीका तीन अपग्रेड भर्सनः हाइब्रिड विकल्पदेखि सुपरफास्ट चार्जिङसम्म, एट्टो १, २ र ३ मा के थपियाे नयाँ ?
काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा सर्वाधिक लोकप्रिय ब्रान्ड बीवाईडीले एकैपटक आफ्ना तीन फरक सेग्मेन्टका गाडीलाई नयाँ रूप र प्रविधिसहित अगाडि सार्ने तयारी गरेको छ ।
साउन २६ गते अर्थात भाेलीदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बीवाइडीले एट्टो १, एट्टो २ र एट्टो ३ लाई नयाँ प्रविधि, इन्जिनियरिङ फेरबदल र परिमार्जित फिचर्ससहित प्रर्दशनीमा राख्न लागेको हो।
नेपाली ईभी पारखीहरूका लागि मुख्य आकर्षण बन्ने मानिएका यी तीनै गाडीहरूले आ-आफ्नो सेगमेन्टमा नयाँ मानक कायम गर्ने अपेक्षा गरिएको छ।
एट्टो १: बढेको ब्याट्री र पावर
अन्तर्राष्ट्रिय बजारमा डल्फिन सर्फ वा सिगल नामले चिनिने बीवाईडी एट्टो १ नेपाली बजारमा सर्वसुलभ मूल्यको एन्ट्री-लेभल ह्याचब्याकका रूपमा डाइनामिक र प्रीमियम गरी मुख्यत: दुईवटा अपग्रेड गरिएका भेरियन्टमा भित्रिनेछ।
पहिले यसको बेस मोडलमा ३० किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको थियो, जसले २२० किलोमिटरसम्मको डब्लुएलटीपी रेन्ज दिन्थ्यो। यसपटकको मुख्य अपग्रेडका रूपमा यसको माथिल्लो भेरियन्टमा ३८.८८ देखि ४३.२ किलोवाट आवर क्षमताको ठूलो ब्लेड एलएफपी ब्याट्री प्याक थपिएको छ, जसले गाडीको रेन्जलाई उल्लेख्य रूपमा बढाएर ३०० देखि ३१० किलोमिटरसम्म पुर्याएको छ।
पावर र पर्फर्मेन्समा पनि कम्पनीले ठूलो सुधार गरेको छ। अगाडि रहेको सिंगल मोटरको पावर ६५ किलोवाटबाट बढाएर नयाँ अपग्रेड भर्सनमा ११५ किलोवाटदेखि अन्तराष्ट्रिय बजारका अपडेटेड मोडलहरूमा १३० सम्म पुर्याइएको छ। चार्जिङ क्षमतालाई थप प्रभावकारी बनाउँदै यसमा ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट दिइएको छ, भने बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने २.२ किलोवाटको भीटुएल एक्सटर्नल पावर डिस्चार्ज प्रविधि थपिनु यसको अर्को लोभलाग्दो फिचर हो।
मूल्यको कुरा गर्दा, हाल डाइनामिक भेरियन्टको प्रारम्भिक मूल्य करिब २९ लाख ७५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३३ लाख ८० हजार रुपैयाँको हाराहारीमा रहे तापनि नयाँ अपग्रेड र थपिएका प्रविधिका कारण यसको मूल्यमा केही समायोजन भई थोरै बढ्न सक्ने अनुमान गरिएको छ। यद्यपि, भोलिदेखि सुरु हुने नाइमा मोबिलिटी एक्सपोमा गाडी अवलोकन तथा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट तथा आकर्षक अफरहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
नेपालका असजिला सडकहरूका लागि उपयुक्त मानिने २२० मिलिमिटरभन्दा माथिको उच्च ग्राउन्ड क्लियरेन्स रहेको यस गाडीमा सुरक्षाका लागि एनक्याप ५-स्टार सेफ्टी रेटिङ, एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटेड इमर्जेन्सी ब्रेकिङ र ६ देखि ८ वटा एयरब्यागहरू राखिएका छन्।
गाडीभित्र १०.१ इन्चको राेटेटिङ टचस्क्रीन इन्फोटेनमेन्ट, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रयाइड ओटो, र ओटीए सफ्टवेयर अपडेटको सुविधा उपलब्ध छ। कम्पनीले यसको सुरक्षित ब्लेड ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको आधिकारिक वारेन्टी प्रदान गर्दछ।
एट्टो २: हाइब्रिड विकल्प र रियर-ह्विल लेआउट
नेपाली बजारमा आधिकारिक वितरक साइमेक्स इंकमार्फत बजेट र कर समायोजन पश्चात करिब ४८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको बीवाईडी एट्टो २ मा यसपटक गाडीको आधारभूत इन्जिनियरिङमै ठूलो रूपान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा ‘युआन अप’ नामले समेत चिनिने यस मोडलमा पहिले अगाडिको पाङ्ग्राले तान्ने (एफडब्लुडी) लेआउट र सामान्य टर्सिन बीम सस्पेन्सन मात्र उपलब्ध थियो।
कम्पनीले अहिलेको नयाँ अपग्रेडमा यसलाई रियर-ह्विल ड्राइभ सिङ्गल-मोटर प्रणालीमा ढालेको छ, जसले गर्दा गाडीको अगाडिपट्टि सानो फ्रन्ट ट्रंकका लागि ठाउँ निस्किएको छ भने चार्जिङ पोर्टलाई अगाडिबाट पछाडिको प्यानलमा सारिएको छ।
साथै, पछाडिको सस्पेन्सनलाई अपग्रेड गरी मल्टि-लिङ्क बनाइएकाले यसको सवारी आराम र सडक पकड अझ सहज हुनेछ।
पावरट्रेनतर्फ शुद्ध ईभीका साथै १.५ लिटरको पेट्रोल जेनेरेटर जोडिएको डीएम-आई प्लग-इन हाइब्रिड प्रविधि थपिनु यसको ठूलो परिवर्तन हो।
अपडेट अनुसार शुद्ध ईभी भेरियन्टमा ५१.१३ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री र १३० किलोवाट मोटर रहेको छ, जसले डब्लुएलटीपी चक्रमा ३४५ किलोमिटर र सीएलटीसी चक्रमा ५०५ किलोमिटरसम्मको रेन्ज दिन्छ। हाइब्रिड मोडलमा भने ७.८ किलोवाट आवर र १८ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ, जसमध्ये १८ किलोवाट आवरको ब्याट्रीले इन्जिन नचलाई केवल बिजुलीबाटै ९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
नेपालको असजिलो बाटोका लागि २०० मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, ४०० लिटरको फराकिलो बुट स्पेस (जसलाई बढाएर १३४० देखि १४३० लिटरसम्म पुर्याउन सकिन्छ), ८० देखि ८२ किलोवाटको डीसी फास्ट चार्जिङ र ६ वटा एयरब्याग यसमा समावेश छन्।
भित्री क्याबिनमा नयाँ युजर इन्टरफेससहितको १२.८ इन्चको घुम्ने टचस्क्रीन, एडभान्स ड्राइभिङका लागि लिडार प्रविधि र अटोमेसिन फिचर्स थपिएका छन्।
एट्टो ३: सुपरफास्ट चार्जिङ र इभो अपग्रेड
विद्युतीय सवारी साधन बीवाईडी एट्टो ३ नेपाली बजारमा ‘एट्टो ३ इभो’ नामको ठूलो मेकानिकल, पर्फर्मेन्स र सफ्टवेयर अपग्रेडसहित उपलब्ध भएको छ। पहिले १५० किलोवाट (२०४ पीएस) को फ्रन्ट-ह्विल ड्राइभ मोटर, ७० देखि ८० किलोवाटको डीसी चार्जिङ र ४४० लिटरको बुट स्पेस रहेको यस एसयूभीलाई अहिले सोझै स्पोर्टी र अत्यधिक शक्तिशाली गाडीमा परिमार्जन गरिएको छ।
नयाँ इभो भर्सनमा अगाडिको पाङ्ग्राले तान्ने लेआउटलाई विस्थापित गरी रियर-ह्विल ड्राइभ वा अल-ह्विल ड्राइभ लेआउट ल्याइएको छ। यसको सिङ्गल-मोटर (रियर-ह्विल ड्राइभ) भेरियन्टले २३० किलोवाट (३१३ पीएस) पावर दिन्छ भने टप-स्पेक अल-ह्विल ड्राइभ भेरियन्टले ३३० किलोवाट (४४९ पीएस) सम्मको विशाल पावर र ५६० एनएम टर्क पैदा गर्छ। यसले गर्दा अल-ह्विल ड्राइभ भेरियन्टको गति अत्यधिक बढेर ० देखि १०० किमी/घण्टाको रफ्तार मात्र ३.९ सेकेन्डमा समात्न सक्ने भएको छ।
यसमा ८०० भोल्टको नयाँ हाइ-भोल्टेज आर्किटेक्चर र ७४.८ किलोवाट आवर क्षमताको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यसबाट डब्लुएलटीपी चक्र अनुसार ४७० देखि ५१० किलोमिटरसम्म र सीएलटीसी मानक अनुसार ६३० किलोमिटरसम्मको रेन्ज पाइन्छ। यसको डीसी फास्ट चार्जिङ क्षमतालाई बढाएर सोझै २२० किलोवाट पुर्याइएको छ, जसले उपर्युक्त चार्जरमा १० देखि ८० प्रतिशत ब्याट्री मात्र २५ मिनेटमा चार्ज गर्छ।
नयाँ प्लेटफर्ममा आधारित यो गाडीको आकारमा पनि केही वृद्धि भएको छ। यसको लम्बाई ४६६५ मिमी, चौडाई १८९५ मिमी र ह्विलबेस २७७० मिमी पुगेको छ। सामान राख्नका लागि पछाडिको ४९० देखि ७५० लिटरसम्मको बुट स्पेसका साथै अगाडि बोनटमुनि थप १०१ देखि १८० लिटर क्षमताको नयाँ फ्रन्ट ट्रंक थपिएको छ। पछाडिको सस्पेन्सनलाई ५-लिङ्क इन्डिपेन्डेन्ट बनाइएकाले सवारी आरामदायी हुनेछ।
सफ्टवेयर तथा क्याबिनतर्फ नयाँ अपडेट मार्फत १५.६ इन्चको ठूलो घुम्ने स्क्रिन, हेड-अप डिस्प्ले, ५० वाटको वायरलेस फोन चार्जर, १६ वटा स्पीकरको साउन्ड सिस्टम, र भ्वाइस कन्ट्रोलसहितको स्पोटिफाइ तथा वायरलेस एप्पल कारप्ले र एन्ड्रयाइड ओटो जोडिएको छ। सुरक्षाका लागि लिडार सेन्सर, ३० वटा सेन्सिङ युनिटसहितको उन्नत ड्राइभर सहायता प्रणाली, ७ वटा एयरब्याग, र घुम्तीहरूमा गाडीको गति आफैँ धीमा बनाउने इन्टेलिजेन्ट क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिहरू थपिएका छन्।













