२६ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री शाहको प्रचारपछि डीडीसीको बिक्री बढ्यो, कृषकको बक्यौता आधामा झर्‍यो



काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन बिक्रीमा आएको सुधारसँगै संस्थानको नगद प्रवाह र कृषक भुक्तानीको अवस्थामा पनि सुधार देखिएको छ। पछिल्लो तीन महिनामा कृषकलाई भुक्तानी गर्न बाँकी रकम करिब ७२ करोड रुपैयाँबाट घटेर ३५ करोड रुपैयाँको आसपासमा झरेको डीडीसीले जनाएको छ।

डीडीसी लामो समयदेखि नगद अभाव, ठूलो मौज्दात र कृषकलाई समयमै भुक्तानी गर्न नसक्ने समस्याबाट प्रभावित हुँदै आएको थियो। पछिल्लो समय खर्च नियन्त्रण, बक्यौता असुली, मौज्दात व्यवस्थापन र बजार विस्तारलाई प्राथमिकता दिएपछि संस्थानको वित्तीय अवस्थामा क्रमशः सुधार देखिएको हो।

गत जेठ २ गते प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत डीडीसीको चिजको प्रचार गर्दै स्वदेशी उत्पादन प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका थिए। त्यसपछि डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको र बिक्रीमा सकारात्मक प्रभाव परेको संस्थानका अधिकारीहरूको भनाइ छ। उक्त अभियानलाई कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले समेत समर्थन गरेकी थिइन्।

बिक्री बढेसँगै डीडीसीले लामो समयदेखि भण्डारणमा रहेका दुग्धजन्य सामग्री बजारमा पठाउन थालेको छ। संस्थानका अनुसार करिब ६०० मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखनको मौज्दात क्रमशः घटाइएको छ। मौज्दात कम भएपछि त्यसमा अड्किएको रकम चलायमान भएको र नगद प्रवाहमा सुधार आएको डीडीसीले जनाएको छ।

संस्थानको दैनिक बिक्री आम्दानीमा समेत वृद्धि भएको छ। केही महिनाअघि दैनिक करिब ६० लाख रुपैयाँको हाराहारीमा रहेको बिक्री अहिले करिब ९० लाख रुपैयाँ पुगेको डीडीसीको भनाइ छ। बिक्रीबाट थपिएको आम्दानी कृषकलाई भुक्तानी गर्न प्रयोग भइरहेको संस्थानले जनाएको छ।

कृषकको भुक्तानी एक महिनाभित्रै गर्ने लक्ष्य

दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन बिक्रीमा आएको सुधारको प्रभाव कृषकले भुक्तानी पाउन कुर्नुपर्ने अवधिमा पनि परेको छ। विगतमा सात महिनासम्म ढिलो हुने गरेको भुक्तानी अहिले दुईदेखि तीन महिनामा सीमित भएको छ। अब भने कृषकको भुक्तानी एक महिनाभित्रै गर्ने लक्ष्य डीडीसीले अघि सारेको छ।

वित्तीय दबाब घटाउन संस्थानले अनिवार्यबाहेकका खर्चमा कटौती गरेको छ। साथै, लामो समयदेखि उठ्न बाँकी रकम असुलीलाई पनि तीव्रता दिइएको छ। बिक्री वृद्धि, खर्च नियन्त्रण र बक्यौता असुलीलाई एकसाथ अघि बढाउँदा संस्थानको नगद अवस्थामा सुधार आएको डीडीसीको दाबी छ।

बजार विस्तारका लागि डीडीसीले निजी क्षेत्रसँग सहकार्य गर्दै काठमाडौं उपत्यकामा आठ वटा छुट्टै बिक्री केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। यी केन्द्रमार्फत आफ्ना उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्‍याउने र बिक्री थप बढाउने संस्थानको योजना छ।

डीडीसीले पछिल्लो सुधारलाई निरन्तरता दिँदै मौज्दात व्यवस्थापन, बजार विस्तार र कृषकलाई नियमित तथा समयमै भुक्तानी गर्ने विषयलाई आगामी दिनको प्राथमिकतामा राखेको जनाएको छ।