२६ श्रावण २०८३, मंगलबार

आकर्षक क्रसओभर डिजाइन र ४०० किलोमिटर रेन्जसहित चेरी क्यू सार्वजनिक



आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र अत्याधुनिक सुरक्षा फिचरसहित बहुप्रतीक्षित विद्युतीय सवारीसाधन चेरी क्यू नेपाली बजारमा भित्रिएको छ।

काठमाडाैँ । नेपालका लागि चेरी गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन चेरी क्यू सार्वजनिक गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत कम्पनीले यो प्रिमियम ह्याचब्याक मोडललाई औपचारिक रूपमा नेपाली बजारमा भित्र्याएको हो। क्रसओभर डिजाइनमा तयार पारिएको यो गाडीले आधुनिक मोबिलिटीको चाहना राख्ने नेपाली उपभोक्तालाई लक्षित गरेको छ।

कम्पनीले चेरी क्यूको कम्फर्ट भेरियन्टको बजार मूल्य ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

तर, एक्स्पोको अवसर पारेर ल्याइएको विशेष छुट योजनाअनुसार उपभोक्ताले कम्फर्ट भेरियन्ट ३० लाख ९९ हजार र प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमै प्राप्त गर्न सक्नेछन्। उत्कृष्ट सुविधाहरूले भरिपूर्ण यो गाडी प्रिमियम सेग्मेन्टमा बलियो प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

अत्याधुनिक ब्याट्री क्षमता

चेरी क्यूमा ४१ दशमलव दुई किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यो गाडीले एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।

चार्जिङका दृष्टिकोणले पनि यो सवारीसाधन निकै उन्नत रहेको छ। यसले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले ब्याट्रीलाई केवल १६ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

यसबाहेक, गाडीमा उपलब्ध भी टु एल सुविधामार्फत बाह्य विद्युतीय उपकरणहरू पनि सहजै सञ्चालन गर्न सकिन्छ।

आरामदायी इन्टेरियर

उत्कृष्ट कार्यसम्पादनका लागि परिचित यस एसयूभीमा १७५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स दिइएको छ। यसमा ५४० डिग्री सराउण्ड क्यामेरा, १५ दशमलव छ इन्चको ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र २० भन्दा बढी विशेषतायुक्त एडास सुरक्षा फिचरहरू उपलब्ध छन्।

उन्नत विद्युतीय प्लेटफर्ममा निर्मित यो रियर ह्वील ड्राइभ प्रणालीमा आधारित छ। यसको आकर्षक बाहिरी बनोटका साथै भित्री भाग पनि उत्तिकै फराकिलो र व्यावहारिक बनाइएको छ। यसमा ३७५ लिटरको बुट स्पेस रहेको छ भने पछाडिका सिटहरू फोल्ड गरेर यसलाई १४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।

अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता र उत्कृष्ट विद्युतीय पर्फरमेन्सको बेजोड संयोजन रहेको चेरी क्यूले यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आइएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ।

अन्तर्राष्ट्रिय ख्याति प्राप्त यो मोडल भित्रिएसँगै नेपाली विद्युतीय सवारीसाधन बजारमा यसले नयाँ तरङ्ग ल्याउने विश्वास गरिएको छ।