६७९ किमी रेन्ज दिने महिन्द्राको अत्याधुनिक एक्सईभी ९ एस सार्वजनिक, मूल्य रू. ६० लाख
काठमाडौं । विद्युतीय मोटर उत्पादक कम्पनी महिन्द्राले आफ्नो नयाँ र अत्याधुनिक फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन आज यो प्रिमियम गाडी औपचारिक रूपमा नेपाल डेब्यु गरेकाे हाे । कम्पनीले यस गाडीको मूल्य ६० लाख रुपैयाँ तोकेको छ।
यस गाडीमा ५९, ७० र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्पहरू उपलब्ध गराइएका छन्, जसले एकपटकको पूरा चार्जमा अधिकतम करिब ६७९ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। २,७६२ एमएमको लामो ह्विलबेस र २०५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको यस गाडीले नेपालका जस्तोसुकै खाल्टाखुल्टी र कच्ची सडकमा पनि सहज यात्रा तय गर्न सक्छ। यसमा पछाडि ५२७ लिटरको बुट स्पेस र अगाडि बोनेटमुनि १५० लिटरको फ्रन्क दिइएको छ।
उत्कृष्ट पर्फर्मेन्सका लागि यसले २२८ देखि २८२ हर्सपावरसम्मको शक्ति र ३८० एनएमको टर्क पैदा गर्छ। यसले ७ देखि ७.९ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको रफ्तार समात्न सक्छ भने यसको अधिकतम गति २०२ किलोमिटर प्रतिघण्टा रहेको छ। लामो यात्राका लागि यसले १७५ किलोवाटसम्मको डिसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसले गर्दा ब्याट्री छिटो चार्ज हुन्छ।
गाडीको भित्री भागमा अत्याधुनिक ट्रिपल-स्क्रिन ककपिट, प्रिमियम इन्टेरियर, १६ वटा स्पिकर भएको हर्मान कार्डन अडियो सिस्टम र ठूलो प्यानोरामिक सनरुफ जडान गरिएको छ। सुरक्षाका लागि यसमा ७ वटा एयरब्याग, लेभल २ प्लस एडास, ३६० डिग्री क्यामेरा, र ड्राइभर मोनिटरिङ सिस्टम जस्ता उन्नत विशेषताहरू रहेका छन्।













