२६ श्रावण २०८३, मंगलबार

आईसीएफसी फाइनान्सद्वारा कर्णालीकी छात्रा शीतालाई शैक्षिक छात्रवृत्ति



काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।

शिक्षाको माध्यमबाट विद्यार्थीको क्षमता विकास तथा उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रा शाहीलाई छात्रवृत्ति प्रदान गरिएको फाइनान्सले जनाएको छ। जन्मस्थान कर्णाली प्रदेश भए पनि काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी शाहीलाई प्रदान गरिएको सहयोगले उनको शैक्षिक यात्रालाई सहज बनाउँदै उच्च शिक्षा तथा आगामी लक्ष्यतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास फाइनान्सले व्यक्त गरेको छ।

छात्रवृत्ति प्रदान गर्दै फाइनान्सले शाहीलाई उज्ज्वल भविष्यका लागि शुभकामना दिँदै अध्ययनमा निरन्तर मेहनत, लगनशीलता र समर्पणका साथ अघि बढ्न प्रोत्साहित गरेको जनाएको छ।

छात्रवृत्ति वितरण कार्यक्रममा आईसीएफसी फाइनान्सका प्रबन्धक अच्युत पण्डित, बौद्ध शाखा प्रबन्धक अजय राज रेग्मी, बजार व्यवस्थापन प्रमुख सञ्जोक गुरुङ तथा बजार व्यवस्थापन अधिकृत सरिना श्रेष्ठलगायत चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र सामाजिक अभियन्ता टेक राज शाहीको उपस्थिति थियो।

आईसीएफसी फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक रूपमा सहयोग आवश्यक भएका विद्यार्थीको शैक्षिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।