नाईमा अटो एक्स्पोमा डोङफेंगका दुईवटा बस सार्वजनिक
काठमाडाैं। हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेंगद्वारा उत्पादित बसहरू काठमाडौको भृकुटीमण्डपमा आयोजना भएको नाईमा अटो एक्स्पोमा सार्वजनिक भएको छ।
कम्पनीले हाल दुईवटा विद्युतीय बसको मोडल सार्वजनिक गरेको छ । जस अन्तर्गत सिटी ईभी बसको मूल्य १ करोड १४ लाख ५० हजार र लङ रेन्ज ईभी बसको मूल्य १ करोड २४ लाख ५० हजार कायम गरी सार्वजनिक गरिएको र नाइमा अटो एक्स्पो भरि बुकिङ गर्ने ग्राहकहरूको लागि सो मूल्यमा पाँच लाख रुपैयाँ छुट दिइने जानकारी समेत गराएको छ।
यो मूल्यहरू हाल नेपालको बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी बसहरूको तुलनामा निकै कम भएको कुरा समेत कम्पनीले जानकारी गराएको छ । सार्वजनिक गरिएका सो बसहरूले एकपटक फुल चार्ज गर्दा एनईडीसी अनुसार सिटी मोडलले २५० किलोमिटर तथा लङ रेन्ज मोडलले ३५० किलोमिटर रेन्ज प्रदान गर्नेछन । गुणस्तरीयतामा बेजोड मानिने डोङफेंग बसहरू आरामदायी यात्राका लागि समेत सुप्रसिद्ध रहेका छन् ।
यी बसहरू डीसी फास्ट चार्जमा केवल ४५ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज हुनेछन्र। हाल २८ र ३० सिटमा यस कम्पनीका बसहरू उपलब्ध छन् भने ४० र ५२ सिट क्षमता भएका बसहरू समेत छिट्टै नै नेपाल आउन लागेको जानकारी समेत कम्पनीले गराएको छ ।
डोङफेंग चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ । यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुबाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (ईभी), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ। हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका छन् ।
हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतका फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुप अन्तर्गत रहेको म्याक्सस कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ साथै यस कम्पनीले निकट भविष्यमा यसै कम्पनीका ठूला प्रकारका विद्युतीय स्कुल बसहरू पनि नेपाल ल्याउन लागेको जानकारी गराएको छ।
साथै यस कम्पनीका विद्युतीय बसहरूको नेटवर्कहरू विस्तार गर्नका लागि नेपालभरिका प्रमुख सहरहरूमा डिलरशिपको लागि आह्वान समेत गरिसकेको जानकारी गराएको छ ।













