२८ श्रावण २०८३, बिहिबार

बलियो बन्दै सानिमा रिलायन्स लाइफ, दाबी भुक्तानी र जीवन बीमा कोषमा उत्साहजनक आकार



बजारको सुस्तताबीच पनि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा आफ्नो नाफा र कारोबार फराकिलो बनाउँदै साढे ३८ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा कमाउन सफल भएको छ।

काठमाडौँ । आर्थिक हिसाबले चुनौतीपूर्ण मानिएको वर्ष २०८२/८३ मा पनि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो नाफामा सामान्य सुधार गर्न सफल भएको छ। व्यवसाय विस्तारमा आएको तीब्रता र बीमितप्रतिको उत्तरदायित्वलाई समयमै पूरा गर्दा कम्पनीका अधिकांश वित्तीय सूचकहरू सकारात्मक देखिएका छन्।

समीक्षा अवधिमा कम्पनीले ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

व्यवसाय विस्तारको गति सुस्त हुन नदिई कोर बिजनेस मानिने खुद बीमा शुल्क आर्जनमा भने उल्लेख्य छलाङ मारेको छ। गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १६.१७ प्रतिशतले बढेर ७ अर्ब ८५ करोड ४० लाख ६८ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ६ अर्ब ७६ करोड ६ लाख ४४ हजार रुपैयाँमा सीमित थियो।

बीमा क्षेत्रमा दाबी भुक्तानीलाई सबैभन्दा ठूलो सेवा र विश्वसनीयताको कडी मानिन्छ। यसै क्रममा कम्पनीले बीमितको कठिन समयमा राहत पुर्‍याउँदै गत वर्ष ७ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

अघिल्लो वर्ष यस्तो भुक्तानी रकम ६ अर्ब ५४ करोड २७ लाख ७३ हजार रुपैयाँ रहेको थियो। यसले बीमितको विश्वास जित्न कम्पनी निरन्तर खटिरहेको प्रष्ट पार्छ। उता, भविष्यका जोखिमसँग लड्न तयार पारिएको महाविपत्ति कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ सञ्चित छ भने बीमितहरूको दीर्घकालीन भविष्य सुरक्षित गर्ने जीवन बीमा कोष भने अझै मजबुत बन्दै २५ अर्ब ५५ करोड ५९ लाख रुपैयाँको उचाइमा पुगेको छ।

कारोबारको आकार बढ्दै जाँदा आम्दानी र खर्चको ग्राफ पनि स्वाभाविक रूपमा उकालो लागेको छ। गत वर्ष कम्पनीले कुल ९ अर्ब ६० करोड ३१ लाख ७२ हजार रुपैयाँ आम्दानी गर्दा ९ अर्ब २२ करोड २८ लाख ८८ हजार रुपैयाँ कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ८ अर्ब ६९ करोड १६ लाख ५२ हजार रुपैयाँ र कुल खर्च ८ अर्ब ३१ करोड ८४ लाख ९० हजार रुपैयाँ थियो।

५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६५ पैसा कायम भएको छ। त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा रहेको छ जसले वित्तीय आधार बलियो रहेको संकेत गर्छ।