२८ श्रावण २०८३, बिहिबार

राष्ट्रिय वाणिज्य बैंककाे नाफा र ब्याज आम्दानी दुवैमा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक वर्षमा साढे ४ अर्बभन्दा बढी नाफा कमाएको छ।

बिहीबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस समीक्षा अवधिमा बैंकको खुद नाफा ६०.६८ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै बैंकको खुद ब्याज आम्दानी पनि १७.८५ प्रतिशत बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ८.३४ प्रतिशत बढेर १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

यस्तै समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६४.२६ प्रतिशत बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २ अर्ब २३ करोड ४४ लाख रुपैयाँबाट घटेर ८४ करोड ७९ लाख रुपैयाँमा झरेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढेको हो ।

बैंकको प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार आएको छ। अघिल्लो वर्ष १८ रुपैयाँ १४ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष ११ रुपैयाँले बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ६ रुपैयाँ ८९ पैसा छ।

बैंकको खराब कर्जा भने अघिल्लो वर्षको ३.७९ प्रतिशतबाट थोरै बढेर ३.९५ प्रतिशत पुगेको छ। कर्जा र निक्षेपको अनुपात ५०.८७ प्रतिशत कायम भएको छ भने आधार दर ४.८९ प्रतिशतबाट घटेर ४.२२ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी भने १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ छ भने बैंकको जगेडा कोष १०.७० प्रतिशतले बढेर ४० अर्ब ४५ करोड ४ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकले ६ खर्ब ८६ अर्ब १३ करोड ५६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने अघिल्लो आर्थिक वर्षको तुलनामा कर्जा लगानी  १३.६० प्रतिशत बढाएर ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख ५० हजार रुपैयाँ पुर्‍याएकाे छ।