२८ श्रावण २०८३, बिहिबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष, सञ्चालक र सीईओविरुद्ध मुद्दा दायर



काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिएको नियमित कामकारबाहीलाई लिएर मुद्दा दायर भएको जनाएको हो।

बैंकका अनुसार उक्त घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध सिर्जना भएको छैन। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको र सम्पूर्ण सेवा तथा गतिविधि नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन हुने बैंकले स्पष्ट पारेको छ।

बैंकले संस्थाको सबलता, समग्र ग्राहकको हित तथा बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ।

यस्तै, बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिन बैंकले आग्रह गरेको छ।

बैंकले आफ्नो सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन र आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ।

साथै, बैंकले सम्पूर्ण निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ।