२९ श्रावण २०८३, शुक्रबार

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०२ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब २८ करोड रुपैयाँ थियो।नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ।

अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ६ अर्ब २९ करोड रुपैयाँमा झरेको छ।

यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी भने १ अर्ब ३४ करोडबाट बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।बैंकको खुद सञ्चालन आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको ५ अर्ब ४९ करोड रुपैयाँबाट बढेर समीक्षा अवधिमा यस्तो आम्दानी ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिजर्भ पनि बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ४० करोड रुपैयाँ रहेको रिजर्भ बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो। रिटेन्ड अर्निङ भने ७७ करोड ८१ लाख रुपैयाँबाट घटेर ५२ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ।यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ८२ करोड ९३ लाख रुपैयाँ रिभर्सल भएको छ।

बैंकको वितरणयोग्य मुनाफा ५ करोड २३ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ३.३७ प्रतिशत कायम भएको छ। बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा ईपीएस १३.५३ रुपैयाँ पुगेको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यो ८.७१ रुपैयाँ थियो।

त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३२.६२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६०.५१ रुपैयाँ रहेको छ।बैंकको तरलता अनुपात ३३.०४ प्रतिशत र मूल्य–आम्दानी अनुपात १४.५५ गुणा कायम भएको छ।