एनएलजी इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब १५ करोड नाघ्यो, व्यापार बढे पनि दाबी भुक्तानीले नाफामा दबाब
काठमाडौं । गत आर्थिक वर्षमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे मुख्य व्यवसाय अर्थात् खुद बीमा शुल्क आर्जन दाेहाेराे अंकले बढेकाे छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद बीमा शुल्क (नेट प्रिमियम) आर्जन १७.९९ प्रतिशतले बढेर १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ। मुख्य व्यवसायमा भएको यो वृद्धिसँगै कम्पनीको कुल आम्दानी पनि ११.६० प्रतिशतले वृद्धि भई १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
व्यवसाय विस्तार र बीमा शुल्क आर्जनमा राम्रो प्रगति देखिए पनि कम्पनीको खुद नाफामा भने भारी गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६२.३१ प्रतिशतले खुम्चिएर ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ। नाफा घट्नुमा मुख्यतया दाबी भुक्तानीमा आएको उच्च वृद्धि प्रमुख कारण देखिएको छ। यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ३७.५५ प्रतिशतले ह्वात्तै बढेर ३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ। दाबी भुक्तानी बढेसँगै कम्पनीको कुल खर्च पनि २७.४१ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले वृद्धि भई २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ कायम भएको छ। यस अवधिमा कम्पनीको बीमा कोष १४.७६ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँको मजबुत अवस्थामा पुगेको छ। यता, नाफा घटेसँगै कम्पनीको सञ्चित मुनाफा भने ८७.२० प्रतिशतले खुम्चिएर १ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ।
खुद नाफामा आएको उच्च गिरावटका कारण कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) पनि प्रभावित भएको छ। अघिल्लो वर्ष ५.९८ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर २.१७ रुपैयाँ कायम भएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.३६ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले कुल २ लाख २३ हजार ९११ वटा बीमालेख जारी गरेको छ।















