२९ श्रावण २०८३, शुक्रबार

भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण क्षमतामा चल्छन् : सभामुख अर्याल



भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने भन्दै सभामुख डोलप्रसाद अर्यालले सुशासन र समृद्धिको एजेन्डाबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन्।

काठमाडाैँ । भैरहवास्थित गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित तथा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि सरकारले कसरत तीव्र पारेको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा सभामुख डोलप्रसाद अर्यालले दुवै विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुने विश्वास व्यक्त गरे।

पछिल्लो समय यी दुवै ठूला पूर्वाधारको उपयोगिता र नियमित उडानलाई लिएर उठिरहेका प्रश्नबीच संसद्का प्रमुखबाट आएको यो भनािलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विमानस्थलहरूलाई चलायमान बनाउन अहिले विभिन्न तहमा गम्भीर र घनिभूत परामर्श भइरहेको उनको भनाइ छ।

निजगढ विमानस्थल ?

नाटाको सभालाई सम्बोधन गर्दै सभामुख अर्यालले केवल विद्यमान विमानस्थल मात्र नभई बहुचर्चित निजगढ विमानस्थल निर्माणको विषयले पनि प्राथमिकता पाएको बताए। मुलुकको दीर्घकालीन हवाई कनेक्टिभिटीका लागि निजगढ आयोजनाबारे आवश्यक बहस र प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए।

पर्यटन क्षेत्रको कायापलट गर्न आधुनिक प्रविधिको अधिकतम् प्रयोग अपरिहार्य रहेको औँल्याउँदै उनले यस क्षेत्रमा नयाँ पुस्तालाई आकर्षण गर्नुपर्नेमा जोड दिए। परम्परागत शैलीलाई पछाडि छाड्दै डिजिटल युगको आवश्यकता अनुसार पर्यटन बजारलाई विस्तार गर्नुपर्ने उनको तर्क छ।

संसद् र सरकारमा युवा सहभागिता

यसैबीच, वर्तमान राज्य सञ्चालनका संरचनामा युवाहरूको उल्लेख्य उपस्थिति रहेको उल्लेख गर्दै सभामुख अर्यालले विकास निर्माण र नीतिगत सुधारका लागि केही समय धैर्य गर्न नागरिकलाई आग्रह गरे।

समाजमा दिनहुँ जसो प्रवाह हुने निराशाजनक भाष्यले मुलुकलाई सकारात्मक गन्तव्यमा नपुर्याउने उनको चेतावनी थियो। असन्तुष्टिभन्दा पनि रूपान्तरणकारी सोचका साथ अगाडि बढ्न उनले सम्बन्धित सबै पक्षलाई आह्वान गरे।

वर्तमान सरकार र प्रतिनिधिसभाले देशको इतिहासमै पहिलो पटक स्पष्ट राजनीतिक जनादेश पाएको दाबी गर्दै सभामुख अर्यालले अबको नेतृत्व असफल हुने छुट नरहेको प्रष्ट पारे। केवल पर्यटनको विकास गरेर मात्र देश समृद्ध नबन्ने भन्दै उनले उद्योग, आन्तरिक उत्पादन, आयात–निर्यात र सुशासनलाई एकसाथ एउटै रथका चक्काझैँ अगाडि बढाइने बताए।

राज्यका विभिन्न अङ्गमा देखिएका बेथिति र भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने दृढ संकल्प सरकारले लिएको उनको भनाइ छ। यो राष्ट्रिय अभियानलाई सफल बनाउन दलगत सीमाभन्दा माथि उठेerg सबैको सामूहिक सहकार्य र साथ अनिवार्य रहेको उनले बताए।