पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी
काठमाडौं । क्रिएसन नेपालले सञ्चालन गरेको ‘सफा गरौँ’ अभियानअन्तर्गत श्रावण महिनाका सोमबार सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ।
द कोका–कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा सञ्चालन गरिएको अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका थिए।
श्रावण महिनामा पशुपतिनाथ क्षेत्रमा भक्तजन तथा दर्शनार्थीको चाप बढ्ने भएकाले फोहोर व्यवस्थापन तथा सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको क्रिएसन नेपालले जनाएको छ। अभियानमार्फत फोहोरको उचित व्यवस्थापन, जथाभावी फोहोर नफाल्ने बानीको विकास तथा धार्मिक र सांस्कृतिक सम्पदा संरक्षणबारे जनचेतना फैलाइएको थियो।
श्रावण महिनाभर हरेक सोमबार सञ्चालन भएको कार्यक्रममा स्वयंसेवकहरूले प्रत्येक साता दुई दर्जनभन्दा बढी सरसफाइकर्मीसँग मिलेर फोहोर संकलन तथा वर्गीकरण गरेका थिए।
समापन कार्यक्रममा दिगोपन तथा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी मूल्य अभिवृद्धि विभागका निर्देशक आदित्य पाण्डे, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनाले, क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्की, क्रिएसनका संस्थापक आनन्द मिश्र, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिलगायतको उपस्थिति थियो।
द कोका–कोला फाउन्डेसनका अध्यक्ष कालोस पागोआगाले फोहोर व्यवस्थापनमा सुधार तथा जिम्मेवार व्यवहार प्रवर्द्धन गर्न सहकार्य महत्वपूर्ण रहेको बताए। ‘सफा गरौँ’ अभियानमार्फत स्थानीय समुदायलाई फोहोर व्यवस्थापनमा सक्रिय र सक्षम बनाउन सहयोग गर्ने उनको भनाइ थियो।
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले अभियान सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा द कोका–कोला फाउन्डेसनसँगको सहकार्यलाई देशव्यापी विस्तार गर्ने लक्ष्य रहेको बताइन्। उनले ‘सफा गरौँ’ अभियानलाई एकपटक मात्र सञ्चालन हुने कार्यक्रम नभई निरन्तर चल्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।
यसैगरी, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव तीर्थप्रसाद श्रेष्ठले पशुपति क्षेत्रको पर्यावरण संरक्षण तथा संवर्द्धनमा सहयोग गरेकोमा द कोका–कोला फाउन्डेसनप्रति आभार व्यक्त गरे।
कार्यक्रमअन्तर्गत पुनःप्रयोग गरिएका प्लास्टिकका बोतलबाट तयार पारिएका बस्ने बेन्चको समेत उद्घाटन गरिएको थियो। प्लास्टिकजन्य फोहोरलाई पुनःप्रयोग गरी सार्वजनिक उपयोगका सामग्रीमा रूपान्तरण गर्न सकिने सन्देश दिन यस्तो पहल गरिएको जनाइएको छ।
अभियानमा योगदान पुर्याउने स्वयंसेवक, सरसफाइकर्मी तथा साझेदार संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो। पशुपति क्षेत्र विकास कोषले निरन्तर सहयोगका लागि द कोका–कोला फाउन्डेसनलाई प्रशंसापत्र प्रदान गरेको थियो भने चार सातासम्म सक्रिय रूपमा सहभागी स्वयंसेवक तथा सरसफाइकर्मीलाई पनि प्रशंसापत्र दिइएको थियो।
श्रावण महिनाको अभियानबाट प्राप्त उत्साहलाई निरन्तरता दिँदै ‘सफा गरौँ’ अभियानले आगामी १४ सेप्टेम्बर २०२६ मा पर्ने हरितालिका तीजसम्म विभिन्न सरसफाइ तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाएको छ। अभियानले समुदायको सहभागिता बढाउने, फोहोरको उचित व्यवस्थापन तथा दिगो अभ्यासलाई प्रोत्साहन गर्ने र नेपालको सांस्कृतिक तथा धार्मिक सम्पदा संरक्षणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।













